पूर्व युवराज पारसको कालिञ्चोक यात्रा

दोलखा बिशेष पर्यटन ब्रेकिङ्ग समाचार मुख्य समाचार स्थानीय समाचार

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार ०७:४२

दोलखा/पूर्व युवराज पारस शाह दोलखाको पर्यटकीय केन्द्र कालिञ्चोकमा पुगेर फर्किएका छन् ।
मंगलवार विहान करिब ११ बजेतिर दोलखा सदरमुकाम चरिकोट आएका पूर्व युवराज पारस होटल पानारमामा बसेका थिए । होटल पानारमामा विहानको खाना खाएर दिउँसो करिब २ बजेतिर कालिञ्चोक गएका उनी त्यहाँबाट राति ८ बजेतिर काठमाडौँ जाने भनेर फर्किएको बुझिएको छ ।
कालिञ्चोकको कुरीमा रहेको कालिञ्चोक कन्ट्रिभिल्ला होटलमा झण्डै चार घण्टा विताएका पारसले खाजा खाएर निक्कै रमाईलो गरेको होटल सञ्चालक नविन खड्काले बताए । कालिञ्चोकको कुरीसम्म पुगेका पारसले कालिञ्चोक मन्दिरको भने दर्शन नगरेको स्थानियले बताएका छन् । दिउँसो ४ बजेतिर कालिञ्चोक आउनु भएका पूर्व युवराज पारस झण्डै चार घण्टा होटलमा बसेर रमाईलो गर्नु भयो र राति ८ बजेतिर चरिकोट फर्कनु भयो – होटल सञ्चालक नविनले भने ।
चरिकोटको पानारमा होटलमा कोठा बुक गरेको भएपनि पूर्व युवराज पारस भने होटल नफर्किएको पानारमा होटल सञ्चालक बिन्दा चौलागाईले बताईन । कालिञ्चोकबाट फर्किएपछि पारससंगै आएका मानिसले राति काठमाडौँ जाने भनेर सामान लिएर गएको पानारमा होटल सञ्चालक चौलागाईले बताईन । दोलखा भ्रमणको लागि पूर्व युवराज पारस चार जना साथिहरुसंग आएका थिए । उनी दोलखाको बिभिन्न ठाँउमा पटक पटक आउने गरेका छन् । पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रस्टले दोलखाको नाम्दुमा बिभिन्न विकासे योजना सञ्चालन गर्दै आएको छ ।



तपाईंहरुको प्रतिकृया