याेगमायाकाे सन्देश

कला साहित्य बिचार ब्रेकिङ्ग समाचार

प्रकाशित मिति: १ भाद्र २०७७, सोमबार १२:२८

रामप्रसाद सेढाइ

योगमाया जस्तो चर्चित पुस्तक हात परेथ्यो क्वारेन्टाइनको बसाईमा ,जम्मा ३ दिनमा पढिसिद्धियो। पुस्तक पढ्दै जादा आज भन्दा करिब एक सय बर्ष अगाडिको  नेपाली समाज र त्यो समयका नारीहरुको अवस्था को चित्रण मिहिन ढंगले गरेको  थाहा भो। माया नाम गरेकी पात्र (पछि गएर ठुलीहजुर) को वरिपरि घुमेको छ उपन्यासको कथा ।

मायाको  सानै उमेरमा आफ्नो माइतीघर देखी धेरै टाढा बालबिवाह हुन्छ ,घर गरिखान नसक्दा सासुको हेला तथा लोग्नेको कुटाइ उनको दैनिकी हुन पुग्छ । नारीहरु हतपत घरको सङ्घार नाघ्दैनन यदि ठुलो आपत आइपरेन भने । केही सीप नचलेपछी उनी  एकरात घर छोडी माइतीघर रवाना हुन्छिन । बाटो लामो तथा जङ्गल पनि पर्ने हुदा राती जङ्गलको रुखमै वास बस्नु ,त्यहाँ  बाघ सगको जंकाभेट , पानी समेत  नखाइ तीन दिन लगातार हिडेर आफ्नु माइतीघर आइपुग्नु त्यो पनि सानै उमेर कम्ती सहासको विषाय होइन। यी संघर्सका कथा पढ्दा  डरले शरीरमा काडा उम्रिन्छ । कर्मघरको हेला तथा आफू माथीको घरेलु हिंसा सहन नसकी आफ्नै आमाबाबुको मायालु काखमा लुटपुटिने हुटहुटी बोकेर बल्ल माइतीघर आउछिन तर त्यहाँ पनि आफ्नो जन्मदिने पिताले उल्टै घर गरि खान नसकेको भनी घरभित्र छिर्न दिदैनन।

१०/११ बर्ष को उमेरमै बिहे गरिदिने अनि घर गरि खाइन भागेर माइत आइ छोरिले बाबुआमाको इज्जत फाली भन्दै घरको मुलढोका बन्द गर्ने  त्यतिबेलाको हाम्रो समाजको मनोग्रन्थी  कस्तो थियो होला हामी अनुमान लगाउन सक्छौ । जबकी त्यो उमेर भनेको त आफ्नै बाबाआमाको न्यानो काखमा लुटुपुटु गर्ने उमेर हो । ल अब बिचार गरौ हाम्रो त्यो बेलाको समाज परम्परा र संस्कारको नाममा कतिसम्म रुढीबादी सोचले ग्रसित थियो , चलेको चलन जोगाउने नाममा आफ्नै सन्तानको विरुद्ध कति निष्ठूरी बन्थ्यो त्यो बेलाको  समाज अनि आफ्नै अभिभावक । अब त्यो चेली जाने कहाँ ,आफू जन्मेकै घरको मुलढोका आफ्नै पिताले सधैको लागि बन्द गरिदिए, यो कस्तो कुरिती त्यो छोरी पनि उनकै सन्तान होइन र । त्यै घरमा जन्मेको छोरो रजाइ गरिखान्छ बाबुको सम्पती तर छोरिले अफ्ठ्यारो पर्दा ओत समेत पाइनन , अब उनको विकल्प कि त मर्नु कि त आफैले बिद्रोह गरिआएको लोग्नेको घर जानू, उनले दुबै गर्दिनन बरु सामाजिक बिद्रोह गर्दै अर्कै एक पुरुषसग पोइल हिडिदिन्छिन भारतको आसाम तिर। त्यो बेलाको समाजमा त्यो ठुलो हिम्मत हो । तर उनको त्यो घर पनि  बिग्रन जान्छ त्यसपछी भने उनी  नेपाल नै फर्किन्छिन अनि सुरु हुन्छ  ठुली हजुरको नया कहानी ।

लेखक

माया (ठुली हजुर) जब आसाम बाट फर्किन्छिन उनलाइ पोइ टोकुइ , पोइ छोड्डुइ, बिधवा, इज्जत नभएकी समाज बिगारा जस्ता आरोप लगाइयो, यस्ता आरोप उनिलाई  मात्र होइन उनिजस्ता कयौ अबला छोरी चेलिलाइ लाग्दै आएको महसुस उनले गरिन। अब उनले सामन्ती शोषक, ठूलो जात भन्नेहरु तथा राज्यद्वारा तत्कालीन नेपाली समाजका गरिव निमुखा सानाजात र नारिले सहनु परेको अन्याय र अत्याचार , कुरिती कुसंस्कार, विकृतिको विरुद्ध  डटेर लड्ने र यस्तो सामाजिक बिभेदको प्रथालाई  जरै देखि उखेलेर फाल्ने प्रण गर्दै अरुण नदिका किनारमा कुटि वनाएर सन्यासी भएर रहिन। त्यसपछी उनलाइ त्यो समयमा साशक र समाजकै उच्च भन्ने हरु बाट थिचोमिचो,बिभेद र अन्यायको जातोमा पिल्सिएका महिला /पुरुष दुबैले  साथ दिन लागे ,उनको कुटिमा त्यस्ता मानिस हरु आउन लागे जसका आफ्ना भन्नू न समाज थियो न राज्य थियो। उनिहरुका पेटबोली बोलिदिने, उकुसमुकुस भएर मनमा रहेको औडाहा हुदा मनको दुख बिसाउने चौतारी उनै ठुलिहजुर नै बनिन, कुरिती कुसंस्कार, सामाजिक विभेद महिला माथिको अन्याको शिकार भएका ती अबला हरुका लागि राज्य पनि उनै कानुन पनि उनै, न्याय पनि उनै न्यायाधीश पनि उनै, आशा भरोसा सबै उनै , वास्तवमा भन्नुपर्दा उनी त्यो समयकी असली बिद्रोही थिइन अरु सबै ढोगी मात्रै , उनी जे बोल्थिन पूरा गर्थिन अरु मुखले १ थोक बोल्ने कामले अरु ।

यसरी क्रमशः उनको समूह ठुलो बन्दै गयो। उनिहरुको माग थियो :- जातपातको आधारमा कसैलै थिचोमिचो सहनु नपरोस,जात जम्मा १ छ त्यो हो मानव जात ,महिला माथिको विभेद अन्त्य होस, ब्राह्मणले मात्र पड्दै आएको बेद सबै जातले पढ्न पाउनुपर्यो, सबै जनताले पढ्न लेख्न पाउनुपर्यो, बालबिवह तथा सतिप्रथा खारेज गरियोस। उनी भन्छिन चलेको चलन भनेर चलाउनु भएन,यो फेरिनुपर्छ, बिधवाले पुन  विवाह गर्न  पाउनुपर्छ , ब्राह्मण कुलमा जन्मदैमा ब्राह्मण हुदैन यदि उसले ब्रह्म तत्व जानेको छैन भने, मृत्युपछि गरिने संस्कार गरुड पुराणको कुनै आवस्यकता उनी देख्दिनन बरु यो त मृतकका आफन्तलाइ अझ पीडा दिने मेलोमेसो हो भन्छिन र गरुड पुराण लगाएका ठाउमा गएर बिथोल्न खोज्छिन, यि लगायत अन्य कयौ सामाजिक कुरिती कुसंस्कार बिरुद्ध सुधारका माग राखी पटक पटक तात्कालिक श्री ३ राणा प्रधानमन्त्री समक्ष भिक्षापत्र माग्न गएकोमा तत्कालीन तानाशाही साशकको आखामा उनी कसिङगार हुन्छिन र त्यो सत्तालाइ यि माग मन पर्ने कुरै भएन । यदि उनको कदमबात जनतामा चेतना जाग्यो भने, सामाजिक जागरण पैदा भयो भने,जान्ने बुझ्ने भए भने हाम्रो सत्ता खोसिनेछ भन्ने बुझेका ती तानाशाही हरुले उल्टै त्यो समुहलाइ दमन गर्ने नीति लियो । आफ्ना माग पूरा नहुने देखेर राणा साशनलाइ चुनौती दिदै उनिहरुको तनाशाही साशनको जग हल्लाउने गरि  आफुहरुको करिब २४० भन्दा ठुलो समुहले  अग्नि समाधी लिनै  लागेका बेला पक्राउ गरि जेलमा हाल्यो ,पछि जेलबाट छुटेपछी फेरि  १९९८ असार मासको हरिशयनी एकादशीका दिन आफुलाइ अरुण नदिमा हेलिएर ६६ जाना महिला/ पुरुषको समुहले जलसमाधी लियो, उनीहरुको यो कदमले तात्कालिक समय र समाजमा ठूलो हलचल मचाइदियो, उता राणाशासनको जग समेत बेसरी हल्लाइदियो, यता जनतामा ठूलो सामाजिक जागरण पैदा गर्यो।

यो सम्बन्धमा यसको अन्तर्यलाइ बुज्दा – यो सन्सारमा सबै मानिसहरु लोभी पापी स्वार्थी मात्रै छैनन् ,यदि सबै त्यस्ता मात्रै हुन्थे भने यो मानव समाज  कसरी यति सुन्दर र पृथ्वी यस्तो बस्न लायक हुन्थ्यो होला र । आज हामी जुन सामाजिक परिवेशमा बाचेका छौं यो सुन्दर परिवेश आफै पट्क्कै भएको होइन, समाजका अनेकन कुरिती कुसंस्कार,सामाजिक विभेद,तानाशाही साशकहरुका विरुद्ध  इतिहासकै अनेकन घढिमा कैयन समयमा कैयौं  महामानव हरुले आफ्नो प्राण उत्सर्ग गरेका छन् ,कैयौं  आमाका सपुतहरुले मृत्युको बलिबेदिमा आफुलाइ होमेका छन् ,आजका हामीहरुका लागि यो समाज बस्न योग्य बनाउन हिजोका ती अमर नक्षत्रहरुको ठुलो योगदान रहेको छ,यदि त्यस्तो हुदैनथ्यो त आज पनि हाम्रा आमा छोरी चेली सतिप्रथा जस्तो मानव समाजको अत्यन्तै निर्बिवेकी कुसंस्कारको शिकार बन्नु पर्थ्यो, एउटा छोरोले आफ्नी ममतामयी आमालाइ चितामा हालेर जीउँदै जलाइरहनु पर्थ्योहोला, दास दासी भएर कयौ मानिसहरु पशुतुल्य जीवन बाच्नु पर्थ्यो, बालविवाहको नाममा कति चेलिबेटी हिम्साको शिकार हुनुपर्थ्यो, साशक लाई कर तिर्ने नाममा कति गरिव दुखिहरु बेघरवार हुनुपर्थ्यो होला , ठालुहरुका अन्याय र अत्याचारको जातोमा अझै कति निमुखा हरु पिधिइरहनु पर्थ्यो होला ।

लोग्ने आफ्नो कालगतीले मर्छ सृष्टिको नियमानुसार तर अलछिनी  पोइ टोकुइ भनेर आरोप उसकी श्रीमती लाई लाग्छ, बाचुन्जेल पनि लोग्नेको खुट्टाको जल खानुपर्ने , उसकै सेवा गर्नुपर्ने ,उसको आदेश बेगर १ पाहिलो सार्न नपाउने , मर्दकी ४ ओटि भनेर लोग्नेले जति पनि भोग गर्न पाउने तर आफ्नो लोग्ने मरेमा उसकै नाम जपेर सति सावित्री बनेर धर्म थामेर रङ्गहिन जीवन बिताउनु पर्ने यो कस्तो बिभेद हो? के यो कुनै विवेकी मानिस बस्ने समाज हो। होइन कदापि होइन मानिस पनि पशुतुल्य बाच्नुपर्ने पनि मानव समाज हुन्छ कहिँ । हो त्यसैकारण समाजमा अझै पनि यस्ता योगमायहरु जन्मिरहनुपर्छ , आफुलाई आहुती दिइरहनुपर्छ ।नत्र  यहाँ रुढीबादी अन्धविश्वासले ग्रस्त यो समाजमा उचनिच जातिपाती को विभेदका सिकार भै ज्यान फाल्न बिवस  नवराज  बिक हरुको मृत्युले चहर्याइरहेको आलो घाउ सहितको यसको बाछिटाले सुदूरभविष्यसम्म नेपाली चेतनालाई ऐठन गरिराख्नेछ । हाम्रो सामूहिक विवेक र चिन्तनलाई अनन्तकालसम्म घच्घच्याइरहनेछ ,जातप्रथाको घीनलाग्दो पर्खालले गर्ल्यामगुर्लुम ढालिदिनेछ ,यो छुत अछुत मानव सभ्यताको  सर्वाधिक कुरुप किस्सा हो। हो कानुन बदलिएको छ, समय बदलिएको छ तर अझै बदलिएको छैन त्यो सोच, अनि बदलिएको छैन समाजमा जरा गाडेर बसेको कुरिती कुसंस्कार अनि उच निच जातपात माथी हुने चरम विभेद। अनि बदलिएको छैन दाइजोप्रथाको नाममा अझै हाम्रा छोरी चेलीबेटीहरु जीउँदै जल्न बाध्य हुने परिस्थिति ।अनि बदलिएको छैन विभिन्न कारण घरेलु हिंसा तथा विभिन्न धर्म संस्कारका नाममा अझै खुट्टाका जल खान बाध्य पारिने नियम। समय लाग्ला तर परिवर्तन अवस्यम्भावी छ सबै एकजुट भै लागि परेमा।



तपाईंहरुको प्रतिकृया