पशुपति मन्दिर परिसरमा ज्ञान महायज्ञ

कला साहित्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार समाचार

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार ११:१६

दोलखा/दोलखा सदरमुकाम चरिकोट स्थित पशुपति मन्दिर परिसरमा शनिवारबाट शिव महिमा रुद्राभिषेक सत्संग ज्ञान महायज्ञ सुरु भएको छ । पशुपति मन्दिर संरक्षण समितिको आयोजनामा सुरु भएको सत्संग ज्ञान महायज्ञको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले गर्नु भएको थियो ।
सो अवसरमा पर्यटन सचिव अधिकारीले नेपालको अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुहुदै भ्रमण बर्ष २०२० ले नेपालको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुहुदै सचिव अधिकारीले सरकारको यो लक्ष्य पुरा गर्न नेपालका सबै पर्यटकीय क्षेत्रको प्रचार जरुरी रहेको बताउनु भयो ।
पर्यटन सचिव अधिकारीले नेपालको पर्यटन प्रर्वद्धनको लागि धार्मिक, सांस्कृतिक र सामाजिक विकास आवश्यक रहेको पनि बताउनु भयो । उहाँले संघिय सरकारले प्रदेश र स्थानिय सरकारसंग समन्वय तथा सहकार्य गरेर सबै क्षेत्रमा पर्यटन विकासको लागि सहयोग गर्ने समेत बताउनु भयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले सांस्कृतिक एवं धार्मिक पर्यटन प्रर्वद्धनको लागि नगरपालिकाले बिभिन्न योजना बनाएर काम गरिरहेको उल्लेख गर्नुहुदै त्यसको लागि स्थानियको सहयोग आवश्यक रहेको बताउनु भयो । नगरप्रमुख केसीले बजार सरसफाई, पर्यटकीय स्थलको विकास, सांस्कृतिक पहिचान र संरक्षणको लागि नगरपालिकासंग हातेमालो गरेर काम गर्न संघ संस्थाहरुलाई आग्रह समेत गर्नुभयो ।
पुशपति मन्दिर संरक्षण समितिका सदस्य प्रविण श्रेष्ठको सभापतित्वमा भएको सत्संग ज्ञान महायज्ञ समुद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य केशव चौलागाई, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठ, सत्संग महायज्ञका प्रमुख बाचक कपिलदेव भट्ट, योगी ब्याग्र बेदनाथ, जिल्ला समन्वय समिति दोलखाका सदस्य बिदुर शर्मा, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा र पशुपति मन्दिर संरक्षण समितिका सल्लाहकार रामेश्वर मानन्धरले मन्तव्य व्यक्त गर्नु भएको थियो । महायज्ञ समुद्घाटन अघि भक्तजनहरुले बजारको बिभिन्न भागमा कलशयात्रा गर्नु भएको थियो ।
नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख बाचक कपिलदेव भट्ट र सहबाचक यज्ञप्रसाद घिमिरेले कथा बाचन गर्नुहुने र बिभिन्न धार्मिक भजन समेत प्रस्तुत हुने आयोजक पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष विपिन श्रेष्ठले बताउनु भयो । सत्संग ज्ञान महायज्ञको महिलो दिन जिल्ला समन्वय समिति दोलखाका सदस्य बिदुर शर्माले एक लाख ११ हजार एक सय पाँच रुपैया सहयोग गर्नु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।



तपाईंहरुको प्रतिकृया