सकियो भैरव कुमारी जात्रा

कला साहित्य दोलखा बिशेष फिचर समाचार ब्रेकिङ्ग समाचार समाज स्थानीय समाचार

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहीबार १५:०७

दोलखा/भैरव कुमारी जात्रा द्वाल्खा सहरमामात्र देखिईने प्राचिन एवं ऐतिहासीक जात्रा हो । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ मा पर्ने प्राचिन द्वाल्खा सहरको पहिचान मध्यको प्रमुख हो भैरव कुमारी जात्रा ।
भाद्र द्वितिया देखि सष्ठीसम्म पाँच दिन रातभरी प्रर्दशन गरिने भैरव कुमारी जात्रा विहिवार विहान सकिएको छ । यो जात्रा हेर्न दोलखाको बिभिन्न ठाँउबाटमात्र हैन काठमाडौँ, ललितपुर र भक्तपुरबाट समेत मानिसहरु प्रशस्तै आउने गरेको वडा नम्बर २ का वडा अध्यक्ष वीराज श्रेष्ठ बताउनु हुन्छ । द्वतियाको दिउँसो तान्त्रिक विधिबाट पुजा सामग्री सहित बालकुमारी मन्दिर (कोबिदेउ) मा एउटा बोका पुजा गरेपछि बेलुकाबाट भैरव कुमारी जात्रा प्रारम्भ हुने भीमेश्वर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ बताउनु हुन्छ ।
हरेक दिन राति १० बजेबाट सुरु गरिने भैरव कुमारी जात्रामा सेनामेना तथा बाजागाजा सहित भैरव र कुमारी द्वाल्खाको टाँसिचा टोलबाट निस्कीएर सहरको बिभिन्न ठाँउमा घुम्ने गर्छन् । भैरव कुमारी जात्रा सुरु भएपछि द्वाल्खाका बिभिन्न टोलका मानिस आफ्नो घर आसपास बसेर भैरव कुमारीको प्रतिक्षा गरिरहनछन् र आफ्नो घर टोलमा आएपछि भैरव कुमारीलाई छुएर पुजा सामग्री सहित दर्शन गर्ने र मनोकामना पुरा होस भन्दै आर्शिवाद थाप्ने गर्दछन् । स्थानिय संस्कृतका अध्यता तीर्थनारायण जोशिका अनुसार भैरव कुमारी जात्रामा नकिन (थकाल्नी) रातो सारी र चोलो लगाएर हातमा धागो कात्ने फिरफिरे र लठ्ठी बोकेर सहभागि हुन्छन् भने सरगउ (सेनापति) सेता जामा र सेतो दौरा सुरुवाल लगाएर घोडामा सवार हुन्छन् ।
भैरव कुमारीको दर्शन तथा पुजा गर्दा चिताएका कुरा पुरा हुने, सन्तान शुख प्राप्त हुने, दीर्घरोग ठिक हुने र बोलि नआएको मानिसको बोली आउने जनविश्वास रहदै आएको छ । मनोकांक्षा पुरा हुने विश्वासकै कारण द्वाल्खाका चेलिबेटीहरु भैरव कुमार िजात्रा अवधिभर ब्रत समेत बस्ने गर्छन् ।
भैरव कुमारी जात्रामा शिवभक्ति थरका स्थानियमात्र नाच्ने परम्परा रहदै आएको छ । भैरव, कुमारी र सेनापति नाच्न पहिलो दिन १२ जना शिवभक्ति आउछन् भने दोस्रो दिन देखि १३ जना शिवभक्ति र एक जना तान्त्रिक विद्या जान्ने गुभाजु समेत गरी १४ जना नाचमा सहभागि हुन्छन् । केहि समय देखि शिवभक्तिहरुले भैरव कुमारी नाचमा सहभागि भएर आफुहरुले के पाउन सक्यौ त भन्दै गुनासो गर्न थालेपछि केहि समस्या हुने गरेको वडा अध्यक्ष वीराज श्रेष्ठ बताउनु हुन्छ । शिवभक्तिहरुले आफुहरुलाई सडक, बत्ति र नाच अवधिमा आर्थिक व्यवस्थापन हुनुपर्ने माग गरेको वडा अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।
भुकम्पले भैरव निकाल्ने घर र कुमारी घरमा समेत क्षति भएपछि जोखिमै यो जात्रा सञ्चालन गरेको स्थानिय बताउछन् । भैरव कुमारी जात्राको लागि गुठियारहरु भएको र स्थानिय समाजसेवी लक्ष्मण श्रेष्ठले समेत गुठि स्थापना गरी सहयोग गर्दै आउनु भएको सथानियको भनाई छ । भीमेश्वर नगरपालिकाले समेत भैरव कुमारी जात्राको लागि सहयोग गरेको भएपनि शिवभक्ति परिवारको सहयोग र भैरव तथा कुमारी घर निर्माणमा नगरपालिकाले सहयोग गर्नु पर्ने स्थानिय ज्ञानेन्द्र प्रधान बताउनु हुन्छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी भैरव कुमारी जात्राको लागि नगरपालिकाले मागको आधारमा उचित सहयोग गर्ने बताउनु हुन्छ । भुकम्पले क्षति भएको भैरव र कुमारी घर नगरपालिका मातहत रहने अवस्था भए नयाँ निर्माणमा सहयोग गरिने तर व्यक्तिको मातहत हुने अवस्थामा भने नगरपालिकाले सहयोग गर्न कानुनी रुपमा असम्भव हुने नगरप्रमुख केसीले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया