दुई बर्षको अवधिमा विकासले गतिलिएको छ – भरत दुलाल

अन्तर्वार्ता दोलखा बिशेष ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार ११:५५

दोलखा जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकाले मुलुकको विकास र समृद्धिको लागि सडक निर्माण, कृषि उत्पादन, पर्यटन प्रवद्धन लगायतका कामहरु गरिरहेको दावि गरेको छ । तर आवश्यक कानुन निर्माणमा समस्या, कर्मचारी अभाव जस्ता कारणले सोचे अनुसारको काम भने हुन नसकेको स्थानिय जनप्रतिनिधिहरुको दावि छ ।
यसै सन्र्दभमा दोलखा शैलुङ गाँउपालिकाका प्रमुख, तत्कालिन नेकपा एमाले दोलखाका सचिव एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भरत दुलालसंग गरिएको कुराकानि

मुलुकमा संघिय गणतन्त्र व्यवस्था सुरु भएर संघ, प्रदेश र स्थानिय तहको निर्वाचन सकिएको पनि एक बर्ष पुगेको छ, के राजनीतिक दलहरुले विगतमा भन्ने गरेजस्तो सिंहदरवारको अधिकार गाँउमा पुगेको हो ?

विगतको तुलनामा ग्रामीण जनताले गाँउतहबाटै अधिकांश कामहरु छिटो छरितो ढङ्गले सम्पन्न गर्न सकेका छन् । र नयाँ राजनीतिक व्यवस्था अनुसार स्थानिय तहको निर्वाचन सकिएको करिब दुई बर्षको अवधिमा विकास निर्माणका कामहरु विगतको तुलनामा अत्यधिकमात्रामा भएका छन् । फेरि पनि संघिय गणतन्त्र स्थापनाको क्रममा भनिए जस्तो सिंहदरवारको सबै अधिकार गाँउ तहमा पु¥याउन भने सकिएको छैन ।
किन त ? के कारणले सिंहदरवारको अधिकार गाँउतहसम्म पु¥याउन सकिएन ?

पहिलो कुरा त संघिय भावना अनुसार गाँउतहमा सिंहदरवारको सबै अधिकार पु¥याउन संविधानको मर्मलाई बुझेर संघ र प्रदेशको कानुनसंग नबाझिने गरी गाँउ तथा नगरपालिकाको कानुन निर्माण हुनु आवश्यक हुन्छ । तर तीनै तहको निर्वाचन सकिएको एक बर्षको अवधिमा पनि संघ र प्रदेशले कतिपय कानुनहरु बनाई सकेको अवस्था छैन् । संघ र प्रदेशकै सबै कानुन बनि नसकेकोले स्थानिय तहले पनि आफुलाई आवश्यक पर्ने कानुन बनाउन सकिरहेको छैन । अनि कानुन नभएपछि सबै अधिकार प्रयोग गर्ने अवस्था रहदैन । दोस्रो कुरा अहिले पनि स्थानिय तहमा कर्मचारीको अभाव छ । शैलुङ गाँउपालिकामा तीस जना कर्मचारीको दरबन्दि हुदा जम्मा तीन जना कर्मचारीले काम गरिरहनु परेको छ । अन्य सथानिय तहको अवस्था पनि शैलुङको भन्दा फरक छ जस्तो लाग्दैन । त्यसैले पनि संविधानको भावना अनुसार सिंहदरवारको अधिकार गाँउतहसम्म पुग्न नसकेको हो ।
दोलखाको शैलुङ गाँउपालिका पर्यटन र कृषि उत्पादनको हिसाबले देशकै प्रमुख पालिका मध्यमा पर्छ । गाँउपालिकाले शैलुङ्को पर्यटन प्रवद्धन र कृषि उत्पादनमा बृद्धिगर्न कस्ता कार्यक्रम गरिरहेको छ ?

पर्यटन होस या कृषि उत्पादन त्यसको मुख्य आधार भनेको सडक नै रहेछ । त्यसैले हामीले पहिलो प्राथामीकता सडक निर्माणलाई नै दिएका छौ । गाँउपालिकाको केन्द्रसम्म जोड्ने प्रवेश मार्गको पिचको लागि प्रदेश र संघमा लविङ भै रहेको छ भने गाँउपालिकाले शाखा सडकहरुलाई प्राथामीकतामा राख्दै सबैठाँउमा सात मीटरको सडक अनिवार्य गरेका छौ । अनि गाँउपालिकाको प्रमुख पर्यटकीय केन्द्र शैलुङलाई रिङ्रोडले घर्ने अभियान समेत सुरु गरेका छौ ।
शैलुङलाई दोलखाको पहिलो पर्यटकीय गन्तव्य र देशको प्रमुख गन्तव्यको रुपमा विकास गर्न सडकसंगै होटल सञ्चालन लगायतको कुरामा समेत गाँउपालिकाले सहयोग गर्ने नीति बनाएको छ । त्यसैगरी कृषिलाई प्रवद्धन गर्न ट्याक्टर वितरण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पहिलो आर्थिक बर्षमा गाँउपालिकाले सुरु गरेको विद्यालय मर्च र शिक्षक मिलान अभियान तथा सडक निर्माण अभियानको क्रममा निक्कै आलोचना भएको थियो अहिले ती विषयमा के काम भै रहेको छ ?

हामीले गाँउ पालिकामा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि विकासको लागि बिभिन्न योजनाहरु सुरु ग¥यौ, त्यस क्रममा केहि विवादहरु भए । विशेषगरी सात मीटर चौडा सडक निर्माण अभियान र विद्यालय मर्च तथा शिक्षक मिलानमा विवाद भएको थियो तर अहिले सबैले त्यो आवश्यक थियो भनेर सहयोग गर्नु भएको छ र अन्य गाँउपालिकाहरुले पनि हाम्रो कामको अनुसरण गरिरहनु भएको छ ।
गाँउपालिकाले गर्ने काममा प्रदेश तथा संघले हस्तक्षप गर्ने गरेका छन् ? या भनौ प्रदेश र संघको कारणले गाँउपालिकालाई काम गर्न अप्ठेरो पो भएको छ की ?

स्थानिय तहको काममा प्रदेश र संघले हस्तषप गर्ने सम्भावना रहदैन र गरेका पनि छैनन् तर मैले माथिनै भनेजस्तो प्रदेश र संघले आवश्यक कानुन बनाई नसकेको र त्यसकै कारण सथानिय तहले कानुन बनाउन कठिनाई हुदा भने काममा केहि समस्या देखिएको छ । अनि संघले आवश्यकता अनुसार कर्मचारी नपठाउदा काममा केहि कठिनाई भएको छ ।
तपाईले बनाउनु भएको योजना तथा कार्यक्रमहरुमा उपप्रमुख, गाँउ कार्यपालिका र वडा अध्यक्षहरुले कत्तिको साथ र सहयोग दिनु भएको छ ?

मैले हरेक योजना आपसि सल्लाह र सुझाबकै आधारमा बनाउने गरेको छु त्यसैले मैले या भनौ गाँउ पालिकाले सुरु गरेको हरेक अभियानमा गाँउ कार्यपालिका र हरेक वडाको पूर्ण साथ र सहयोग रहने गरेको छ ।
तपाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेता पनि हुनुहुन्छ काम गर्ने क्रममा पार्टीसंग कत्तिको समन्वय हुने गरेको छ ? की पार्टीले हस्तक्षप गर्ने वा तपाईले पार्टीको निर्देशन नमान्ने अवस्था पो बनेको छ की ?

पार्टी एकिकरण पछि गाँउपालिका स्तरमा पार्टी कमिटीले पुर्णता नपाएको अवस्थामा समेत मैले पार्टीको गाँउपालिकाका नेताहरुसंग बैठक गर्ने, सुझाब लिने र पार्टीको घोषणा पत्र अनुसार आफ्नो योजना निर्माण गर्ने काम गर्दै आएकोले त्यस्तो समस्या भएको छैन् । अहिले पार्टी कमिटीले पूर्णता पाएको अवस्थामा गाँउपालिकाको योजनामा त्यसले थप सहयोग नै पुग्ने छ, समस्या या विवाद रहने छैन भन्ने मेरो अपेक्षा रहेको छ ।
अनि नेपाली कांग्रेस लगायतका विपक्षिहरुसंग सल्लाह गर्ने, सुझाब लिने काम चाहि गर्नु हुन्छ की हुन्न ?

मैले गाँउपालिकाको हरेक योजना निर्माण गर्दा र त्यसलाई कार्यान्वयन गर्दा सबै राजनीतिक दलहरुसंग छलफल, समन्वय र सुझाब लिने गरेको छु । कुनै कुनै कुरामा साथिहरुले राजनीति गर्न खोज्ने अवस्था बाहेक अन्य सबै अवस्थामा सबै राजनीतिक दल र जनप्रतिनिधिहरुको सहयोग पाईरहेको छु ।

प्रस्तुतीः चिरञ्जीवी मास्के



तपाईंहरुको प्रतिकृया