राजधानि काठमाडौँ बाहेक जता भएपनि आपत्ति छैन– मुख्यमन्त्री पौडेल

अन्तर्वार्ता अर्थ/बाणिज्य प्रदेश समाचार ब्रेकिङ्ग समाचार राजनीति

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार १२:३३

आज (शुक्रवार) तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक बसेको एक बर्ष पुरा भएको छ । अहिले तीन नम्बर प्रदेशको राजधानि र नामको बारेमा बहस भै रहेका छन् । तीन नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बिभिन्न कार्यक्रमहरुमा प्रदेश राजधानि हेटौडामै रहन्छ अन्यत्र सर्दैन भनेपछि विवाद समेत भएको छ । यसै सेरोफेरोमा तीन नम्बर प्रदेशको राजधानि, विकासको प्राथामीकता, केन्द्र र गाँउ तथा नगर सरकारसंगको सम्बन्ध लगायतका विषयमा चिरञ्जीवी मास्केले रेडियो शैलुङको लागि मुख्यमन्त्री डोरमणी पौडेलसंग गर्नु भएको कुराकानिको सम्पादीत अंश ।
१)मुलुक संघियतामा गएपछि सिंहदरवारको अधिकार गाँउमा नै प्राप्त हुन्छ भनिएको थियो तर अहिले काम गर्न झन समस्या भएको गुनासो सुनिन थालेको छ नी ?
– मुलुक संघियतामा गएर तीन तहको सरकार बनेपछि अहिले काममा निक्कै सहजता भएको छ । जनताले अब अधिकांश कामहरु स्थानिय सरकारबाट आफ्नै गाँउघरमै सम्पन्न गर्न सक्ने अवस्था बनेको छ । तर अहिले प्रदेश र स्थानिय तहमा कर्मचारीको अभाव रहेकोले जनताले चाहेअनुसारको सेवा दिन नसकिएको कुरा भने सत्य हो ।
केन्द्रिय सरकारले अहिले कर्मचारी समायोजनाको लागि काम गरिरहेको छ । कर्मचारी समायोजन पछि अहिले प्रदेश र स्थानिय तहलाई काम गर्न जुन समस्या भै रहेको छ त्यो समस्या अन्त्य हुने छ । यदि कर्मचारी समायोजनबाट पनि समस्या हल भएन या कर्मचारीहरु प्रदेश र स्थानिय तहमा जान मानेनन् भने प्रदेश र स्थानिय तहले कानुन सम्मत ढङ्गले कर्मचारी भर्ना गरेर जनतालाई दिने सेवा सुविधालाई सहज बनाउने छ । र जनताले स्थानिय तहबाटै सिंहदरवारको अधिकार प्राप्त गर्न सक्ने छन् ।
२) कानुनको अभाव, बजेटको अभाव र केन्द्र सरकारको हस्तक्षपको कारण पनि प्रदेश सरकार र गाँउ तथा नगरपालिकाले काम गर्न सकेन पनि भनिन्छ नी ?
– यो कुरामा सत्यता छैन । प्रदेश तथा गाँउ र नगरपालिकाले लगभग आफुलाई आवश्यक हुने कानुन संविधानको परिधिमा रहेर निर्माण गरिसकेको छ । बजेटको कुरा गर्ने हो भने प्रदेश र गाँउ तथा नगरपालिकालाई प्राप्त भएको बजेट समेत खर्च गर्न सकिएको छैन । र केन्द्र सरकारले हस्तक्षप समेत गरेको छैन । मुलुकको लागि संघियता नयाँ शासन व्यवस्था भएकोले काम गर्ने सवालमा केहि अस्पष्टता र असहज भएको हो । काम गर्दै जाँदा यो समस्या पनि विस्तारै समाधान हुदै जान्छ । तर अहिलेको मुख्य समस्या भनेकै कर्मचारीको अभाव हो । अहिले पनि धेरै कर्मचारी साथिहरु प्रदेश र गाँउ तथा नगरपालिकामा जान नचाहेको र जाँदा समस्या हुने हो की भन्ने मानसिकतामा रहेकोले समस्या देखिएको छ । कर्मचारीको समस्या समाधान हुना साथ अहिले देखिएको अधिकांश समस्या समाधान हुने छ ।
३) प्रधानमन्त्री केपी ओलीले भन्ने गर्नु भएको मुलुकको विकास र समृद्धिको लागि तीन नम्बर प्रदेश सरकारले के के योजना बनाएको छ ?
– विकास र समृद्धि केन्द्र सरकारकोमात्र चासोको कुरा हैन सातै प्रदेश, गाँउ तथा नगरपालिका र सबै नेपालीको चासो र चिन्ताको विषय हो । यसमा सबैले आ आफ्नो ठाँउबाट योगदान गर्नु पर्छ र गरिरहनु भएको पनि छ ।
तीन नम्बर प्रदेश आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निक्कै महत्वपूर्ण रहेको छ । तीन नम्बर प्रदेश सरकारले आर्थिक विकासको लागि उत्पादनलाई जोड दिएर योजना बनाई रहेको छ भने पर्यटन विकासको लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय स्थलको प्रवद्धन, स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेण्टी जस्ता कुरामा योजनावद्ध ढङ्गले काम गरिरहेको छ ।
५) आर्थिक विकासको लागि उत्पादनको कुरा गर्नु भयो, नेपालमा जमिनको समस्या, दक्ष जनशक्तिको अभाव र प्रविधिको समस्याले उत्पादनमा प्रभाव पार्दैन ?
– आर्थिक विकासको लागि मुख्य कुरा भनेको उत्पादन नै हो । हामीले कुखुरा पालन गर्छौ भने दानाको लागि आवश्यक हुने कच्चा पर्दाथ नेपालमै उत्पादन गर्न सक्नुपर्छ । दाना विदेशबाट ल्याएर कुखुरा पालन सम्भव छैन । अन्य कुरामा पनि यहि कुरा लागु हुन्छ । त्यसैले तीन नम्बर प्रदेश सरकारले उत्पादनलाई मुख्य मानेर योजना बनाई रहेको छ । जहाँसम्म जमिन, जनशक्ति र प्रविधिको कुरा छ यो तीनै चिज नेपालमा छ, खाली यसको व्यवस्थापन र परिचालन गर्न सक्नु पर्छ । नेपालको दक्ष जनशक्ति विदेशमा गएर उत्कृष्ठ उत्पादनमा सघाई रहेका छन् उनीहरुलाई नेपालमै ल्याउने वातावरण बनाउनु पर्छ ।
६) तपाईले तीन नम्बर प्रदेशको राजधानि हेटौडामै बनाउनु पर्छ भनेर जोड दिई रहनु भएको छ । आफु हेटौडावासी भएकोले हो की तीन नम्बर प्रदेशको राजधानि राख्न उपयुक्त भएकैले हो ?
– मैले तीन नम्बर प्रदेशको राजधानि काठमाडौँमा हुदैन भनेकै हो । यो कुनै पनि हालतमा सम्भव छैन । संघियतामा अधिकार तलसम्म पठाउने भन्ने अनि राजधानि केन्द्रिय राजधानिसंगै राख्ने कुरामा मेरो कुनै पनि हालतमा सर्मथन हुदैन । तर मैले तीन नम्बर प्रदेशको राजधानि हेटौडामै हुनुपर्छ भनेको छैन । काठमाडौँ बाहेक अरु जुनसुकै जिल्लामा राजधानि राख्ने कुरामा मेरो आपत्ति हुदैन । तर अहिले भौतिक संरचनाको हिसाबले र सामरीक महत्वको हिसाबले तीन नम्बर प्रदेशको राजधानि हेटौडामा राख्न उपयुक्त देखिएकोले मैले राजधानि हेटौडामा ठिक हुन्छ भनेको हो ।
अहिले हेटौडामा जे जति भौतिक संरचनाहरु छन् त्यो सबैकुरा अर्को जिल्लामा तत्काल हुन सम्भव छैन । जसको कारण तत्काल राजधानि हेटौडाबाट अन्यत्र सार्ने अवस्था देखिदैन । अर्को कुरा सामरीक महत्वको हिसाबले २०१८ साल देखिनै जिल्लाहरुको केन्द्र सिमा क्षेत्रमा राख्ने गरिएको पाईन्छ । विशेषगरी सुरक्षाको हिसाबले पनि विगत देखिनै जिल्लाको केन्द्र सिमा क्षेत्रमा राखिएको पाईन्छ । त्यसैले अहिलेको सरकारले विगतको त्यो सत्यलाई इन्कार गर्ने अवस्था पनि रहदैन । त्यसैले सामरीक महत्वलाई ध्यानमा राखेर प्रदेशको सिमानामा रहेको हेटौडामा राजधानि राख्नु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो ।
७) अरु सबै हिसाबले तीन नम्बर प्रदेशको राजधानि हेटौडा मा ठिक भएपनि तीन नम्बर प्रदेशमा रहेको १० वटा जिल्लालाई राजधानि पुग्न दुरीको हिसाबले समस्या हुदैन र ?
– पहिलो कुरा त आम जनता राजधानि पुगिराख्नै पर्दैन किनभने अब सबैकाम गाँउ तथा नगर सरकारलेनै गर्छ । प्रदेश सांसदहरु बर्षमा बढीमा चार महिना राजधानि बस्नु पर्ने हो । दोस्रो कुरा तीन नम्बर प्रदेशमा रहेका जिल्लाहरुबाट राजधानि हेटौडा पुग्न सबैभन्दा छोटो दुरी कुन हुन्छ भन्ने कुरामा प्रदेश सरकारले अध्यन गरिरहेको छ । प्रदेश सरकारले सबै जिल्लाबाट छोटो दुरी कुन हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर सडक निर्माण र मर्मतलाई प्राथामीकता दिने छ । त्यसैले दुरीको हिसाबले पनि हेटौडा कुनै पनि जिल्लालाई टाढा हुदैन ।



तपाईंहरुको प्रतिकृया