कर्मचारीको अभावमा स्थानिय सरकारको काम प्रभावित

अर्थ/बाणिज्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार १४:४३

बिमला बुढाथोकी

दोलखा/दोलखाको विगु गाउँपालिकामा वडा सचिवको काम अनमी मार्फत हुने गरेको छ । गाँउपालिकाका वडाहरु सचिव विहिन भएपछि जनताको काम नरोकियोस् भनेर अनमी मार्फत काम लगाउनु परेको विगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले गुनासो गर्नुभयो ।
विगु गाँउपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य कर्मचारीनै छैनन् । गाँउपालिकामा कर्मचारी नहुँदा विकास निर्माणका कामसँगै आर्थिक, प्रशासनिक कामहरु समेत ठप्प भएको गाँउपालिका प्रमुख खड्काको भनाई छ । प्रमुख खड्काले भन्नु भयो – स्थानीय तहमा निर्वाचित भएर आएको साँढे दुई वर्ष समय बित्यो । तर यस अवधिमा प्रदेश सरकारबाट के पायौँ के पाएनौँ यसको अनुभूतिनै गर्न सकिएन । स्थानिय तहहरुमा दरबन्दि अनुसारका कर्मचारी नहुँदासम्म समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गर्न नसकिने प्रमुख खड्काको भनाई छ । उहाँले भन्नुभयो कर्मचारीसंगै दुर्गम र सुगम, भुगोल र जनसंख्याको आधारमा जबसम्म निष्पक्ष बजेट बाँडिदैन तबसम्म स्थानीय तह सफल हुन् सक्दैनन् । स्थानीय तह सञ्चालनका लागि केन्द्रबाट आउने बजेट बर्षै पिच्छे घट्दै गएकोले पनि समस्या भएको प्रमुख खड्का बताउनु हुन्छ । साविकका गाविस हुँदाको बजेट र अहिले स्थानीय सरकार हुँदाको बजेट जोड्दा अहिले साह्रै न्युन हुने गरेको विगु गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधार
आठ वटै वडामा सडक पुगेको विगु गाउँपालिका स्वास्थ्य क्षेत्रमा राम्रो देखिएको छ तर शिक्षा क्षेत्रमा भने कमजोर बनेकोे छ । गाँउपालिकामा दरबन्दि अनुसारका शिक्षक नहुँदा शिक्षा क्षेत्रमा सोचे अनुरुप विकास गर्न नसकिएको गाँउपालिकाका प्रमुख खड्काले बताउनुभयो । गाँउपालिकामा दरबन्दि अनुसारको शिक्षक ल्याउन अहिले पहल भैरहेको छ ।
काम नभएका दुई क्षेत्र
विगु गाउँपालिकाले दुई वटा क्षेत्रमा अझै सोचे अनुसार काम गर्न सकेको छैन् । गाँउपालिकाले निर्वाचन भएको साँढे दुई बर्ष समय बितिसक्दा समेत महिला र कृषिको क्षेत्रमा सोचे अनुसार काम गर्न नसकेको हो । गाँउपालिकाले महिलाको क्षेत्रमा के काम गर्ने भन्ने अन्यौलले समस्या भएको जनाएको छ । गाँउपालिकाका सबै खेतियोग्य जमिन बाँझो भएका कारण कृषिको क्षेत्रमा समेत कुनै काम हुन् नसकेको सरोकारवालाहरुको भनाई छ ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखाको विगुसंगै शैलुङ र मेलुङ गाउँपालिका पनि कर्मचारी विहिन भएका छन् । जसको कारण जनताको दैनिक काम देखि विकास निर्माणका कामहरु समेत प्रभावित भएको जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।



तपाईंहरुको प्रतिकृया