पत्रकार महासंघलाई सम्मान

अर्थ/बाणिज्य दोलखा बिशेष ब्रेकिङ्ग समाचार सूचना प्रबिधि स्थानीय समाचार

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार ११:४६

दोलखा/प्रगति बचत तथा ऋण सहकारी संस्था लि.ले नेपाल पत्रकार महासंघ दोलखालाई सम्मान गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. २ राम्पास्थित प्रगति बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखालाई पाँच हजार एक रुपैयाँ नगदसहित सम्मान गरेको हो । महासंघले दोलखाको सहकारी क्षेत्रको प्रचारप्रसारमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
वार्षिक उत्सवको अवसरमा सहकारीको संस्थापक शेयर सदस्य लगायत एसइइ परीक्षा २०७६ मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा र नियमित बचत गर्ने ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा भीमेश्वर वडा नम्बर १ का वडाअध्यक्ष वीर बहादुर थामी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, सहकारीकर्मीहरु चन्द्र लामा, स्टालिन श्रेष्ठ, सोममाया श्रेष्ठ र रत्न श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव राम प्रसाद दहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रगति बचत तथा ऋण सहकारी संस्थाले पत्रकार महासंघको भवन निर्माणको लागि गत वर्ष २० औं साधारण सभाको अवसरमा एघार हजार एक सय एघार सहयोग गर्नुभएको थियो ।



तपाईंहरुको प्रतिकृया