तामाकोसी तेस्रोको क्षमता घटाएर सम्झौता नभएको उर्जामन्त्रीको प्रष्टिकरण

अर्थ/बाणिज्य ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार १७:१९

काठमाडौ/दोलखामा निर्माणको तयारी भएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ६५० बाट घटाउने गरी कसैसंग पनि सम्झौता नभएको उर्जा मन्त्री बर्षमान पुनले बताउनु भएको छ ।
मंगलवार दोलखाका संघिय सांसद पार्वत गुरुङको समन्वय तथा तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समिति दोलखाका संयोजक शिवप्रसाद भण्डारीको नेतृत्वमा छलफलको लागि मन्त्रालय पुगेको टोलिलाई उर्जा मन्त्री पुनले उर्जा मन्त्रालयले टिबीआइ होल्डिङसंग क्षमता घटाएर २ सय मेगावाटमा गोप्य रुपमा सम्झौता गरेको कुरामा कुनै सत्यता नभएको बताउनु भयो ।
तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समिति दोलखाका संयोजक शिवप्रसाद भण्डारी, संघिय सांसद पार्वत गुरुङ, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई लगायतले टिबीआइ होल्डिङको लाईसेन्स खारेज गरी ६५० मेगावाटमै निमार्ण गर्नको लागि विद्युत विकास बोर्डले नेतृत्व लिनुपर्ने बताउनु भएको थियो । जवाफमा मन्त्री पुनले तामाकोसी तेस्रो आयोजना तत्कालको लागि ६५० मेगावाटमा निर्माण गर्न सम्भव नहुने भएकोले क्षमता घटाउन आग्रह गर्दै टिबीआइ होल्डिङले निवेदन दिएको तर मन्त्रालयले क्षमता घटाएर निर्माण गर्ने अनुमति नदिएको बताउनु भएको थियो ।
छलफलको लागि संयोजक शिवप्रसाद भण्डारी, संघिय सांसद पार्वत गुरुङ, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, संघिय सांसद शान्ति पाख्रीन, पुर्व राज्यमन्त्री तथा नेकपा दोलखाको संयोजक देवी खड्का, प्रदेश सांसद तथा नेकपा दोलखाको सहसंयोजक रचना खड्का, प्रदेश सांसद सरस्वती वस्नेत, नेकपा नेता गंगा कार्की, नेकपा दोलखाको अध्यक्ष एवं तामाकोसी गाँउपालिका प्रमुख इश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेकपा दोलखाको सचिव गोपाल पाण्डे लगायत उर्जा मन्त्रालय पुग्नु भएको थियो ।
गत साउन ८ गते ऊर्जामन्त्री बर्षमान पुनकै उपस्थितिमा ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ४५० मेगावाट घटाएर २ सय मेगावाटमा टिबीआइ होल्डिङसंग सम्झौता भएको थियो ।
जलविद्युत निर्माणमा अन्र्तराष्ट्रियस्तरमा नै ख्याती प्राप्त कम्पनी नर्वेको स्टाटक्राफ्टलले परामर्शदाता कम्पनी स्वको नोर्गे एएस नर्वेको सहयोगमा लामो समयको अध्ययनपछि अधिकतम १३२० मेगावाट उत्पादन गर्न सकिने भन्दै ८८० मेगावाटहुँदै ६५० मेगावाट क्षमतामा अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।
यस्तो आयोजनालाई सरकारले अगाडी बढाउँनुको सट्टा २ वर्ष यता क्षमता घटाउँदै सर्वेक्षणको नाममा टिबीआइ होल्डिङ कम्पनिलाई दिएर ठाँउ ओगट्ने वातावरण बनाई दिएको स्थानियको आरोप छ । टिबीआइ होल्डिङले काठमाडौंमै बसेर चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टीच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क’मा २ सय मेगावाट क्षमतामा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सम्झौता गरेको थियो ।



तपाईंहरुको प्रतिकृया