विदेश छोडेर स्वदेशमै आम्दानि गर्ने महिलाहरु

अर्थ/बाणिज्य फिचर समाचार ब्रेकिङ्ग समाचार रोजगार समाचार

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार १७:५४

सर्मिला बुढाथोकी

दोलखा/दोलखा जिल्लामा त्यस्ता धेरै उद्यमी महिलाहरु छन् जसले विदेशको रोजगारी छोडेर स्वदेशमा आफ्नो परिवारसंग रमाउदै राम्रो आम्दानि गरिरहेका छन् । र उनीहरुलाई साथ दिएको छ पौरखी नेपालले ।
दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचकी नानु भुजेल आर्थिक अभावका कारण गुजारा गर्न समस्या भएपछि विदेश गएकी थिईन । तर उनलाई आफ्नै देशमा मेहेनत गरे परिवारसंगै बसेर पनि राम्रो आम्दानि गर्न सकिन्छ जस्तो लाग्यो र आफ्नै देशमा फर्किन ।
नेपाल फर्केपछि पौरखि नेपालको सहयोगमा कुखुरा पालन सम्बन्धि तालिम लिएकी नानुले अहिले एक हजार कुखुरा पालन गरेकी छन् । र आफ्नो र परिवारको गुजारा राम्रोसंग गरेकी छन् । म विदेश जानु अघि आफ्नो घर गाँउमानै मेहेनत गरेर कमाई गर्न सकिन्छ भन्ने पक्षमा थिइन । आफ्नो घर गाँउमा काम गर्न लाज पनि लाग्थ्यो तर विदेश गएर धेरै मेहेनत गर्दा पनि सोचे अनुसार आम्दानि गर्न नसके पछि बरु आफ्नै देशमा मेहेनत गरेर कमाई गर्छु भन्ने ठानेर घरमा आई कुखुरा पालनमा लागेको हो – नानुले भनिन् ।
चार लाख लगानि गरेर कुखुरा पालन सुरु गरेकी नानुको अहिले मासिक आम्दानिनै एक लाख भन्दा बढी छ । अहिले उनले कुखुरा पालनसंगै बन्दा खेती र आलुखेती समेत सुरु गरेकी छन् । कुखुरा पालन र कृषि व्यवसायबाट भएको आम्दानिले मेरो परिवारको गुजारा राम्रोसंग चलिरहेको छ – नानुले खुशीहुदै भनिन् ।
खोटाङकी सर्मिला राई कमजोर आर्थिक अवस्थाकै कारण साथीको लहलहैमा लागेर १६ बर्षको उमेरमै विदेश गईन र झण्डै आठ बर्ष घरेलु मजदुरको रुपमा काम गरिन् ।
आठ बर्षको अवधिमा साउदी, ओमन र इराकमा बसेर काम गरेकी सर्मिला अहिले भने नेपालमै आम्दानीको सम्भावना देखेर मख्ख छिन् । सर्मिला भन्छिन्– विदेशमा बगाउने पसिना नेपालमै बगाउन सके पैसाले खाँचो हुदैन रहेछ । बैदेशिक रोजगारकै सिलसीलामा टेलीफोन मार्फत भएको सम्बादले उनी दोलखाको सुरी गाविसका उद्धव गुरुङ्गसँग बैवाहिक बन्धनमा बाधिएकी थिईन ।
पौरखी नेपाल नामक संस्थाको कुखुरा पालन तथा ब्यवस्थापन सम्बन्धि ५ दिने तालिममा सहभागि भै संस्थाले दिएको आठ ओटा दाना तथा पानी हाल्ने भाडाँ लिएर कुखुरा पालन व्यवसायमा संलग्न सर्मिला अहिले विदेशमा भन्दा बढी आम्दानि गर्छिन । विदेशमा हुँदा मासिक १० हजार देखि २५ हजारसम्म कमाई हुन्थ्यो सर्मिलाले भनिन्– अहिले विदेशमा हुनेको र मेरो कमाई बराबर हुन्छ । कुखुरा पालन, करेसाबारीमा लगाएको तरकारी र खसी बेच्दा मासीक ३० देखि ३५ हजारसम्म आम्दानि हुने गरेको सर्मिलाको भनाई छ । बिदेशको लाखौं कमाई भन्दा आफ्नो परिवारसँग बसेर कमाएको थोरै पैसाबाट आत्मासन्तुष्टि मिल्ने रहेछ सर्मिला भन्छिन्–आफ्नो देशमा शान्तिको श्वास फेर्न त पाईन्छ । विदेशमा बसेर कमाएको पैसाले केहि जग्गा जोडे, अहिले त्यसैलाई सदुपयोग गरेर कृषि पेशासंगै कुखुरा पालन व्यवसाय गरेको छु, उनले भनिन् – विदेशमा गर्ने मेहेनत आफ्नै देशमा बसेर गर्ने हो भने परिवारको हेरचाह गर्दै विदेशमा भन्दा बढी कमाई हुन सक्छ ।
सर्मिलाले अहिले २ सय ओटा कुखुरा पालेकी छन् । ६/७ वटा बाख्रा पनि छन् उनको । हरेक मानिस बिभिन्न बाध्यताले मजदुरीको लागि विदेश गएका छन् त्यसैले सरकारले नै हरेकलाई व्यवसायीक बनाउन अग्रसरता लिनु पर्छ – सर्मिलाले भनिन् । उनी भन्छिन् – हरेक महिलाले विदेशमा दुःख गर्ने सोचाई बनाउनु भन्दा स्वदेशमै सम्भव भएको व्यवसाय गरे आम्दानि पनि हुन्छ र घर परिवारको देखरेख पनि गर्न सकिन्छ ।
अहिले सरकारले पनि स्थानिय तहबाटै पर्याप्तमात्रामा रोजगारीको अवसर सिर्जना गर्ने तयारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत एक स्थानिय तहबाट पाँच हजार भन्दा बढी रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुसाल सबै स्थानिय तहबाट रोजगार सिर्जना गर्ने गरी योजना तयार गर्न लागिएको र यसबाट स्वदेशमै रोजगारको अवसर मिल्ने बताउछन् ।



तपाईंहरुको प्रतिकृया