बाहिरी सम्पर्कमै नभएको जेष्ठ नागरिकमा कोरोना, स्थानियमा त्रास

ब्रेकिङ्ग समाचार मुख्य समाचार स्वास्थ्य

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार १४:२४

दोलखा/बाहिरी सम्पर्कमै नरहेको दोलखा भीमेश्वर नगरपालिकाका एक जेष्ठ नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानियमा त्रास देखिएको छ ।
लामो समय देखि घरमै रहेका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका ७६ बर्षीय जेष्ठ नागरिकलाई गत जेठ १० गते शनिवार हाई प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि दोलखाको गौरीशङ्कर अस्पतालमा उपचारको लागि लगिएको थियो । दोलखाको अस्पतालमा सामान्य उपचार पछि शनिवारनै थप उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको र उपचारको क्रममा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि स्वाव परिक्षण गरीएको र त्यसमा कोरोना संक्रमण पुष्टि भएपछि हाल उहाँको महाराजगञ्जको टिचिङ अस्पतालमा उपचार भै रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।
कोरोना संक्रमित जेष्ठ नागरिकका एक छिमेकीका अनुसार उहाँ लक डाउनको बेला कहि कतै जानु भएको पनि थिएन र उहाँको घरमा पनि बाहिरका मानिस आएका थिएनन् । उहाँमा कसरी कोरोना संक्रमण देखियो हामी छक्क परेका छौ – ती छिमेकीले भन्नु भयो ।
अहिले संक्रमण पुष्टि भएको जेष्ठ नागरिकको घर आसपास उच्च सर्तकता सहित घर बाहिर ननिस्कन छिमेकीलाई आग्रह गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो । भीमेश्वर नगरपालिकाले कोरोना संक्रमित जेष्ठ नागरिकको सम्पर्कमा आएकाहरुको कन्ट्रायाक ट्रेसिङको काम गरी रहेको र उहाँको सम्पर्कमा आएको सबैको स्वाव परिक्षण गरिने नगरप्रमुख भरत केसीले बताउनु भयो ।
कोरोना संक्रमित जेष्ठ नागरिकको सुरुमा उपचार गर्नेे गौरीशङ्कर अस्पतालका स्वास्थ्यकर्मीहरुलाई छुट्टै राखिएको र उहाँहरुको स्वाव परिक्षण गर्ने तयारी भै रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जेष्ठ नागरिकलाई उपचारको लागि लिएर जानु भएको उहाँको बुहारीलाई पनि टिचिङ अस्पतालले क्वारेन्टाईनमा राखेर स्वाव परिक्षणको लागि पठाउको जनाएको छ ।
दोलखाबाट उपचारको लागि गएको छोटो अवधिमै उहाँमा कोरोना संक्रमण देखिएको र घरमा रहदा पनि बाहिर फेर नजाने भएकोले संक्रमणको स्रोत के हो भनेर खोज्ने काम भै रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया