दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, चालक र समितिलाई कार्वाहिको माग

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १८ कार्तिक २०७६, सोमबार १६:५५

दोलखा/सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुबहाक बस दुर्घटनाका मृतकको परिवारले बिभिन्न १३ बुँदे माग सहित सिन्धुपाल्चोकको बाह्रबिसे इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
विवादकै कारण मृतकको दाहासंस्कार समेत हुन सकेको छैन् । मृतकका परिवारले दुर्घटना पुरानो बस र क्षमता भन्दा बढी यात्रु राखेकैले भएकोले सरकारले छानविन गरी दोषिलाई कार्वाहि गर्नुपर्ने, मृतकको परिवारलाई विमा बापतको रकम सहज ढङ्गले तत्काल उपलब्ध गराउनु पर्ने, सरकारको तर्फबाट मृतकको परिवारलाई २० लाखको दरले उपलब्ध गराउनु पर्ने, मृतकको बाल बच्चालाई १२ कक्षासम्म निशुल्क पढाउने र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्न र तोकीएको भन्दा बढी भाडादर लिन रोक्नु पर्ने लगायतका माग राखेको दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीका वडा अध्यक्ष किरण वस्नेतले बताउनु भयो ।
सोमवार साँझ दोलखाका सांसद, सिन्धुपाल्चोक र दोलखाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शैलुङ गाँउपालिकाका प्रमुख लगायतका स्थानिय जनप्रतिनिधि, मृतक तथा घाईतेको परिवार सहितको छलफलमा बस समितिको आधिकारीक प्रतिनिधि नभएकोले कुनै सहमति हुन नसकेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो । बस समितिको आधिकारीक प्रतिनिधि आएपछि पुनः छलफल गर्ने र आफुहरुको मागमा सहमति नभए आन्दोलन गर्ने मृतकका परिवारले बताएका छन् ।
मृतकको संख्या १८ पुग्यो
आईतवार विहान ८ः३० बजे शैलुङ गाँउपालिका वडा नम्बर ४ बागखोरबाट काठमाडौँको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडक खण्डबाट सुनकोशी नदिमा खसेर दुर्घटना हुँदा वडा नम्बर ५ काटाकुटीको ५२ बर्षिय चेतकुमारी वस्नेत, उनको भदा १४ बर्षिय रिकेश खड्का, ४५ बर्षिय रत्नकुमारी राउत, उनको छोरा २९ बर्षिय किरण राउत, २० बर्षिय कविता राउत, ३८ बर्षिय सानु राउत आले, २४ बर्षिय रञ्जीता केसी वस्नेत, ३२ बर्षको निर्मला खड्का र १४ बर्षको निकेश खड्का सहित ९ जना, शैलुङ गाँउपालिका वडा नम्बर ४ को ६ बर्षको सलिना तमाङ, १४ बर्षको दियुन लामा (दिल) र ५ बर्षको सजिना तमाङ गरी तीन जना, वडा नम्बर ३ बागखोर माईति भएको २७ बर्षको चमेली श्रेष्ठ (घर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर ४), उनको छोरी ६ बर्षको सायरानी श्रेष्ठ र वडा नम्बर ३ कै तीन महिनाको बालक सिसन तमाङ सहित तीन जना, वडा नम्बर २ को ७० बर्षको उरमाया मोक्तान, चितवन जिल्लाको पटीहानिको ५६ बर्षिय पुजा वस्नेत र उदयपुर जिल्ला चौरण्डी नगरपालिका वडा नम्बर ६ को २३ बर्षिय विजय तमाङ गरी जम्मा १८ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
दुर्घटनामा १५ जनाको घटना स्थलमै, दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र एक जना उदयपुरका विजय तमाङको शव सोमवार दुर्घटना स्थल भन्दा केहि तल भेटिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
सोमवार शैलुङ गाँउपालिकामा सार्वजनिक विदा
दुर्घटनामा शैलुङ गाँउपालिकाकोमात्र १६ जनाको मृत्यु भएकोले सोमवार गाँउपालिकामा सार्वजनिक विदा दिईएको अध्यक्ष भरत दुलालले बताउनु भयो ।



तपाईंहरुको प्रतिकृया