अपडेटः सुकुटे दुर्घटनामा मृतकको संख्या १७ पुग्यो

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १७ कार्तिक २०७६, आईतवार १५:५१

दोलखा/सिन्धुपाल्चोकको सुकुटे बीच रिर्सोट नजिक सुनकोसी नदिमा खसेर भएको बस दुर्घटनामा परी मर्नेको संख्या १७ पुगेको छ । दुर्घटनामा परी १५ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने दुई जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुवहाक बस आईतवार (आज) दिउँसो सिन्धुपाल्चोकको सुकुटे बीच रिर्सोट नजिकबाट सुनकोशी नदिमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरु मध्य दोलखा शैलुङ्गेश्वर गाँउपालिका वडा नम्बर ५ काटाकुटीकी बर्ष ५२ की चेतकुमारी वस्नेत, नाम नखुलेको उनको भदा, ४५ बर्षको रत्नकुमारी राउत र उनको छोरा बर्ष २९ को किरण राउत, बर्ष २० को कविता राउत, सानु राउत, बर्ष १४ को निखिल खड्का, शैलुङ गाँउपालिका वडा नम्बर ३ को तीन महिनाको रोशन तमाङ, बर्ष ३२ को निर्मला खड्का, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाको २४ बर्षिय रञ्जीता केसी, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाँउपालिका वडा नम्बर ४ जलजलेकी २८ बर्षिय चमेली श्रेष्ठ र निजको ६ बर्षको छोरी साया श्रेष्ठ, दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागाको ६ बर्षिय सलिना तमाङ, बर्ष १४ को दिल लामा, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाँउपालिका वडा नम्बर ४ को सजिना तमाङ र दोलखा जिल्लाको बर्ष ७० को उरमाया मोक्तानको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो । उक्त बस दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ४ मागा बागखोरबाट ९ बजे काठमाडौँको लागि छुटेको थियो ।
दुर्घटनामा घाईते बसका चालक दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागाका धनबहादुर तमाङ लगायत ४९ जनाको धुलिखेल अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको एकिन कारण थाहा हुन नसके पनि क्षमता भन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घट्नाको खबर पाएलगतै दोलखाबाट प्रतिनिधित्व गर्नुहुने नेकपाका संघिय सांसद पार्वत गुरुङ, दोलखा शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल, वडा नम्बर ५ का वडा अध्यक्ष किरण वस्नेत लगायत घट्ना स्थल र घाईतेहरुको उपचार भै रहेको धुलिखेल अस्पताल पुगी आवश्यक सहयोग गरिरहेको जनाईएको छ ।

तस्विर सौजन्यः रेशमराजश्वराज रिमाल



तपाईंहरुको प्रतिकृया