अपडेटः सुकुटे दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १७ कार्तिक २०७६, आईतवार ११:४०

दोलखा/ दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुवहाक बस आईतवार (आज) दिउँसो सिन्धुपाल्चोकको सुकुटे बीच रिर्सोट नजिकबाट सुनकोशी नदिमा खस्दा १४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अहिलेसम्म एक बालिका सहित नौ महिला र एक बालक सहित पाँच पुरुष गरी १४ जनाको मृत्यु भएको पुष्टि भै सकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो । बसमा रहेको संख्या एकिन नभएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
मृतक मध्य दोलखा शैलुङ्गेश्वर गाँउपालिका वडा नम्बर ३ को करिब ५०÷५५ बर्षको रत्नकुमारी राउत र तीन महिनाको शिसन तमाङ, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाको २४ बर्षिय रञ्जीता केसी, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाँउपालिका वडा नम्बर ४ जलजलेकी २८ बर्षिय चमेली श्रेष्ठ र निजको ६ बर्षको छोरी साईरानी श्रेष्ठकोमात्र सनाखत भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।
उक्त बस दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीबाट विहान ७ बजे छुटेको थियो भने वडा नम्बर ४ मागा बागखोरबाट ९ बजे काठमाडौँको लागि छुटेको थियो ।
दुर्घटना स्थलबाट बसका चालक दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागाका धनबहादुर तमाङ लगायत ४६ जनालाई उद्दार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया