तर, आँखा तेसै रसाए…

फिचर समाचार बिचार ब्रेकिङ्ग समाचार शिक्षा

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार १०:४५

सम्झना श्रेष्ठ

‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यवद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ देखि सुरु भएकोे लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकिएके छ । तर अझै पनि कतिपय महिलाहरु हिंसामा पर्दा पर्दै पनि खुलेर भन्न सकिरहेका छैनन् । महिलाहरु शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक हिंसा सहेर बस्न वाध्य छन् । आफ्ना समस्या बाहिर ल्याउँदा झनै बढि समस्यामा पर्ने कमलामाई नगर पालीका वडा नं. १ की एक महिला नाम नभन्ने सर्तमा बताउँछिन् । उनी भन्छिन् श्रीमान्ले कमाएर ल्याउने भएकाले जे भन्छन् तेही मान्नुपर्छ । नमानेर के गर्नु, जाने ठाउँ पनि त छैन । गहभरि आँसु पार्दै उनी थप्छिन्, सानैमा बिहे भयो, ३ सन्तान भए अव त श्रीमान्ले जति नै हेला गरे पनि छोराछोरीको मुख हेरेर भएपनि सहनुको विकल्प नै छैन । आफ्नो कमाई नहूँदा झन् धेरै समस्या हुने उनको भनाई होइन भोगाई छ । यस्तै कथा छ गोलन्जोर गाउँपालीका ६ की एक महिलाको पनि । उनी पनि मेरो नाम कतै पनि नभन्दिनु है, भन्दै आग्रह गर्न लागिन् । मैले उनलाई उनको सर्तमा सहमति जनाएँ । म सुनिरहँे शिक्षाको ज्योतिबाट ओझेलमा परेकी एक निर्दाेष महिलाको आजसम्म नलेखिएको कथा ।। उनी भन्छिन् “नानी अव त श्रीमान्को गालीको शव्द नै मीठो लाग्ने वानी भैसक्यो” हिंसा केलाई भन्ने ? कती र कस्ता कुरालाई मात्र हिंसा ठानौँ ? दैनिक जीवन गुजार्न कति गाह्रो छ । यहाँ हिंसाको लेखाजोखा गर्ने हो भने घर छोड्नुपर्छ, सम्बन्ध विच्छेद गर्नुपर्छ । उनी थप्छिन् यदी सहन छोड््ने हो भने मैले त मरे पनि हुन्छ, यस्तो लाग्छ म मर्न नसकेर बौलाहीरहेकी छु आजसम्म । आधा दर्जन छोराछोरी भैसके । श्रीमान् रातदिन शंका गर्छन्, सानो काम बिग्रीयो भने पनि घरबाट निस्कि भन्छन्, कुट्छन् संसार यस्तै छ मेरो ……….। बोल्दा बोल्दै उनको आवाज रोकियो, म निशव्द भएँ था थिएन त्यसबेला म उनी सँगै रुन मिल्थ्यो मिल्थेन तर, आँखा तेसै रसाए… म उनी सँगै रोएँ । धेरैबेरपछि विस्तारै बोलेँ, चिन्ता नगर्नुस् म तपाइँलाई यो अन्यायमा बस्न दिन्न । उनलाई सान्तवना दिन प्रयत्न गरेँ । उनी धेरैबेर बोल्न सकिनन् । एकछिन पछी बोलीन् “तपाइँ त यो ठाउँको पाहुना, आज आउनुहुन्छ भोली जानुहुन्छ । यस ठाउँमा बस्नुपर्ने त मैले हो, मलाई झन् दुख माथि दुख नथप्नुस्…. तपाइँ जानुस् यहाँबाट…” एकाएक उनको बोलीमा परिवर्तन आयो । उनलाई डर थियो यस्तो कुरा बाहिर आयो भने यही घरमा यही श्रीमान् सँग कसरी बस्न सक्छु ? आफ्नै श्रीमान् विरुद्ध बोलेर भोली जानेठाउँ काँहा छ र ?? यतीका छोराछोरी छन् विन्ती छ मेरो घर नबिगार्दीनु, म यो भन्दा बढि दुख भोग्न चाहन्न यस्तै यस्तै ।। म यसपटक छक्क परिनँ किनकी यो यथार्थ थियो मैले उनको कुरा बाहिर ल्याएँ भने, उनको सुरक्षा कस्ले गर्छ ? त्यस घरमा उनको श्रीमान् बस्न देलान् त ? अदालत, प्रहरी, प्रशासनले एउटा निर्णय त गर्छ तर, दोषी भए कारवाहि पनि गर्ला तर, तेही व्यक्तिसँग उनको बाँकी जीन्दगी कसरी खुसी हुन सक्ला ? एक मनले भन्छ यस्तो अवस्थामा चुप बस्नु हुँदैन, यो मेरो धर्म होइन । फेरी अर्काे मनले भन्छ, यस्ता समस्या भएका महिलाको जाने ठाउँ खै त ?? मन भारी भो दोधारमा परिरहेँ । सोचेँ उनको श्रीमान्सँग यो कुरा गर्छु भनेर तर, मदिरामा लठ्ठ उनी मेरो कुरा कसरी सुन्न सक्थे होला र ?? तेहाबाट हिँड्ने बेला उनीसँग बाचा गरेँ यो कुरा बाहिर ल्याउँदिन भनेर । तर, खै किन–किन मन मानेन । धेरै दिन बेचैन भैरहेँे । यस्तो लाग्छ यस्ता हिंसा पिडित महिलाहरुलाई राज्यले संरक्षण दिनुपर्छ । उनीहरुलाई आय–आर्जनमा लगाएर आर्थिक पक्ष बलियो बनाइदिनुपर्छ । बनाइएका निति नियमहरु व्यवहारमा उतार्नुपर्छ । यी त प्रतिनिधि पात्र मात्रै हुन् खोज्ने हो भने यस्ता कथा करोडाँै छन् जुन, आजसम्म लेखिएकै छैन । कता–कता लाग्छ, मेरी आमा धन्न बाँचेकी रहिछिन् । म त कत्ति भाग्यमानी रहेछु, दुख नझेली, अभाव नगुजारी आफ्नै खुसीमा चलिरहेको म आफैँदेखि खुव ईष्र्या लाग्यो । समाजका अधिकांश महिलाहरु जेनतेन बाँचेका रहेछन्, अरुको खटनमा । समृद्ध नेपाल सुखी नेपाली यो वाक्यले कस्तरी गीज्याइरहेछ हामी अधिकांश नेपाली महिलालाई । अभाव, बेतिथि, अशान्ती र भ्रष्टाचार सहितको समृद्धि र खुसी विनाको सुखीपनको पनि के अर्थ होला र सरकार । जहाँ आधा–आधी तिम्रा भोटका बोटहरु औलाइसके । सपना देख्दा देख्दै ब्युँझिन बिर्सिएका लाखाँै आँखाहरु आँसु भरिएका छन्, जुन छरपष्ट भेट्छु म यत्रतत्र । अव त पावरवाला चस्मा पुछेर ती खस्दै गरेका पाठेघरहरु यथास्थानमा पठाउनु पर्दैन र ? कैयाँै जटिल स्वास्थ्य समस्यालाई पन्छाउन बाँच्न सफल, बलिया प्रधानमन्त्री भएको देशमा आफ्नै श्रीमानको बोली र व्यवहारले दिनप्रतिदिन क्यान्सर लागेर एकमुठी सास अल्झाएर बाँचीरहेका लाखौँ महिला छन् समृद्धीको देशमा । उनीहरु धेरै पटक मरिसकेका छन् । बिन्ती अव फेरी नमार । कुल जनसंख्या २,८१,१३३ रहेको सिन्धुलीमा १,४७,४११ महिलाको संख्या रहेको छ । जील्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकलाई हेर्ने हो भने महिला तथा बालबालिका सम्बन्धि घरेलु हिंसाका घटना आर्थिक वर्ष ०७३÷७४ देखि ०७६÷७७ कार्तिक मसान्तसम्म कुटपिट, झै–झगडाका ७८ वटा, मानसिक यातना तथा गालीगलोज सम्बन्धि ६० वटा, खान लाउन तथा घर खर्च नदिएको ५६ वटा गरि १८४ वटा निवेदन दर्ता भएको थियो । त्यसैगरि ४५ वटा जवरजस्ती करणी, २४ वटा जवर्जस्ती करणाी उद्योग, २५ वटा बहुबिवाह, ७ वटा ज्यान मार्ने उद्योग र २ वटा बाल यौन दुव्र्यवहार सम्वन्धि निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली बताउँछ । यस्तै यस अवधिमा ३४५ जना महिला र ६७ जना बालिका हराएको पाइएको छ । यसैगरि चालु आर्थिक वर्षको ४ महिनामा जील्लाबाट ३९ जना महिला हराएको पाइएको छ । जसमा १२ जना महिला तथा बालिका भेटिएका छन् भने बाँकी अझै सम्पर्कमा छैनन् । संयुक्त राष्ट्र संघको सन् १९११ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको छ । तर नेपालमा भने २०५४ सालदेखि मात्र यो दिवस मनाउन थालिएको हो । यो १६ दिनसम्म गरिएका कार्यक्रममा लाखौँ रुपैयाँ खर्च भएको छ । त्यो खर्चको उपलब्धि के ? माथि उल्लेखित महिला पात्रहरुले चाँही खासमा के पाए होलान् ? अव ठ्याक्कै एक वर्ष पछि तेही ठाउँमा कार्यक्रम गर्न महिला अधिकारकर्मी सहितको जम्वो टोली जाँदा फेरी तीनै आश्वासनको कोसेली बाहेक के पाउलान् तीनीहरुले ? बल्लबल्ल मुख बाट फुत्तीएका समस्याका छेस्कोहरु कार्यक्रम आयोजकको कानसम्म पुग्यो होला त ? था छैन छापीएका तेतीका पर्चा, पम्प्लेटहरु, व्यानरहरु विसर्जन गर्न कति रुपैँया बजेट छुट्याइएको छ भनेर । कृपया सक्नुहून्छ भने यो खर्चको विवरण उपलब्ध गराइएदिनुहोला । सम्बन्धित निकायले कृपा गरेर, किनकी यहाँ मर्ने बेला अन्तिम इच्छा सोध्न सक्छन् आफन्तले ।।



तपाईंहरुको प्रतिकृया