घोरल उद्दारको कथा

फिचर समाचार बिचार

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार १४:१०

शंकरमान थामी

ठुलो आवाजले ड्वाङ्ग ग¥यो , कुकुरहरु भुके नजिकै थिए सशस्त्र प्रहरी बल, माथिल्लो तामाकोसी जलविद्युत आयोजना सुरक्षा बेशका बरिष्ठ हवल्दार सचन चौधरी, सिताराम शिवाकोटी र सोहि आयोजनामा काम गर्ने चिलंखाका फुरी शेर्पा ।
एक्कासी तीनै जनाले त्यो देखे । हेर्दा झट्ट ठम्याउन सकेनन । कुकुर खान आएको चितुवा होकि जस्तो पनि लागेको रैछ । कुकुरलाई लगेर खाला भन्ने डर लागेछ । कुकुर भन्दा पहिले नै पुगे ती तिनै जना । उनिहरु त्यस्को नजिकै जाने त्यो पनि मानिसको नजिकै आउदै गर्यो । सहयोग मागे जस्तो लागेछ । नजिकै पुग्दा चिनियो त्यो रैछ जंगल, भिर मा बस्ने खेल्ने घोरल जातको वन्यजन्तु । घाईते भए जस्तो लागेछ । यतिकै छोड्दा मर्छ भनि नजिकै रहेको सशस्त्रको बेश क्याम्पमा लगेर जिम्मा दिएछन । यो घटना हो विगु गाँउपालिका वडा नं. १ को लामावगर भन्ने स्थान जहाँ माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मे.वा.को ईन्टेक क्षेत्र हो र यो गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्दछ । वनको मान्छेलाई बोलाउनु पर्छ भन्ने हल्ला भएछ सल्लाह भएछ र बज्यो गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको फोनको घन्टि । गौरीशंकर संरक्षण क्षेत्रले तुरुन्त म (शंकरमान थामी) लाई सो घोरलको थप अवस्था बुझ्न, तन्दुरुस्त रहेमा सोही जंगलको छेउमा छोड्नको लागि आदेश भयो । साथमा लाग्नु भयो संरक्षण वन उपभोक्ता संजाल, दोलखाको अध्यक्ष रामचन्द्र खड्का । हामी लामावगर लाग्यौ ।
लामावगरमा पुग्दा भेटियो सशस्त्र प्रहरी नायब निरिक्षक सकुल गिरी, सिमा प्रहरी चौकी, लामावगरको प्रहरी सहायक निरिक्षक दिपेन्द्र ढकाल, स्थानिय संरक्षण क्षेत्र व्यवस्थापन समिति, लामावगरको सदस्य पेम्बाछिरि शेर्पा, सेती देवी संरक्षण वन व्यवस्थापन उपसमितिको अध्यक्ष सोनाम दोर्जि शेर्पा र स्थानियहरु । सवैको अनुहारमा एउटा छुट्टै किसिमको मन्द मुस्कान थियो घोरललाई उद्दार गर्न पाँउदा होला । घोरललाई वेश क्याम्पको एउटा कोठामा राखिएको रहेछ सुरक्षित साथ । कोठामा छिर्दा देखियो अन्दाजी २५ के.जी., ३ वर्ष जतिको पोथी घोरल साथै देखियो देव्रे पट्टिको सिंह अलि भाचिएको । हामी थुप्रो मान्छे देखेर अलि तर्सिए जस्तो गर्यो । हामी मध्येको केहि मान्छेलाई बाहिर जान लगाएर घोरलको परिक्षण गर्यौ । केहि अंग भंग भएको देखिएन न कुनै घाँउ चोट पटक नै थियो । तन्दुरुस्त देखे पछि यसलाई थप उपचारको जरुरी नभएको र जहाँ भेटिएको थियो त्यस्को छेउमा लगेर जंगलमा छोड्ने भनेर सामुहिक सल्लाह भयो । सल्लाह बमोजिम नजिकै रहेको सेतीदेवि संरक्षण वनको देविथान पाखामा लगेर छोड्ने भयौ । वेश क्याम्प देखि जंगल सम्म लैजानको लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सँग जिप माग्यौ र जिपमा हालेर लग्यौ जंगलको छेउ । मुचुल्का र कानुनी कागजातको कार्य पछि छोड्यौ । घोरल उफ्रिदै गयो, नाच्दै गयो, माथि पुगेर फर्केर हेर्यौ कान हल्लायो, साहेद बाइबाइ गर्दै धन्यबाद दिएको होला । (थामी गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको प्राकृतिक श्रोत संरक्षण सहायक हुन् )



तपाईंहरुको प्रतिकृया