कोरोना संक्रमितको सम्पर्कमा रहेका २५ जनाको नतिजा नेगेटिभ

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार १५:४९

दोलखा/काठमाडौँको केएमसी अस्पतालमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएको दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका एक जेष्ठ नागरिकको सम्पर्कमा रहेका २५ जनाको पिसिआर परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
संक्रमित जेष्ठ नागरिकको छिमेकी तिखातलका पाँच जना, उहाँको घरमा बास बसेका नातेदार नेपाली सेनाका एक जना र उहाँको सम्पर्कमा रहेका नेपाली सेनाका अन्य १३ जना तथा जेष्ठ नागरिकको प्राथामीक उपचार गरिएको दोलखाको गौरीशङ्कर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको शुक्रवार गरिएको स्वाव परिक्षण (पिसिआर) को रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुरमा झाले बताउनु भयो ।
गत जेठ १० गते हाई ब्लड प्रेसरको समस्या भएपछि कोरोना संक्रमित जेष्ठ नागरिकलाई सुरुमा दोलखाको गौरीशङ्कर अस्पतालमा उपचार गरेर थप उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको थियो । केएमसीमा उहाँको आरडिटी परिक्षण गर्दा पोजेटिभ आएपछि स्वाव सङ्कलन गरी पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षण पनि पोजेटिभ आएपछि उहाँलाई तत्कालै महाराजगञ्जको टिचिङ अस्पताल लगिएको र हाल त्यहि उहाँको उपचार भै रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमित जेष्ठ नागरिकको सम्पर्कमा आएका दोलखाका सबैको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उहाँलाई कोरोना संक्रमण कसरी र कहाँबाट भयो भन्ने विषय थप चुनौतिपूर्ण बनेको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी बताउनु हुन्छ ।
अब काठमाडौँमा उहाँको सम्पर्कमा रहेकाहरुको पिसिआर परिक्षण पछिमात्र उहाँमा कसरी र कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता लाग्न सक्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झा बताउनु हुन्छ । दोलाखमा घरमा रहदा उहाँ कतै पनि ननिस्केको र उहाँको सम्पर्कमा रहेका दोलखाका सबैको पिसिआर रिर्पोट नेगेटिभ आएकोले दोलखामा कोरोना संक्रमण भएको हुनसक्ने संभावना नदेखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाको भनाई छ ।
दोलखा जिल्लामा हालसम्म ६ सय ५ जनाको आरडिटी परिक्षण र ५२ जनाको पिसिआर परिक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले जानकारी दिनुभयो । आरडिटी परिक्षणमा एक जनाको नतिजा पोजेटिभ आएकोमा उहाँको पनि पिसिआर परिक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
दोलखामा भारत लगायत देशकै बिभिन्न जिल्लाबाट आएका तीन सय ७० जना गाँउपालिकाहरुले निर्माण गरेको क्वारेन्टीनमा रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।



तपाईंहरुको प्रतिकृया