वस्ति झर्दैछन् वन्यजन्तु

दोलखा बिशेष फिचर समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार १२:१७

दोलखा/लक डाउनमा प्रकृतिको सुन्दरतालाई कैद गर्न कालिञ्चोक उक्लीएका फोटो पत्रकार जीवन लामा सडक छेउको एउटा दृश्यले झस्कीए । झण्डै दुईहजार मीटरको आसपास सडकको ढिलमा एउटा सुनौलो रङ्गको पंक्षि, डाँफे बसेको थियो । अनौठो पंक्षि, डाँफे भनेर पहिचान गरी फोटो खिच्न नभ्याउदै त्यो जंगलतिर बत्केपछि लामासंग थकथकाउनुको विकल्पै रहेन ।
अनौठो पंक्षि देख्नासाथ क्यामेरा झिकेर त्यसलाई कैद गर्न सकेको भए मेरो जीवनकै महत्वपूर्ण फोटोग्राफी हुने थियो साहेद, लामाले थकथकाउदै भने – त्यस्तो रङ्को पंक्षि कैले नदेखेकोले म त अतालिएर फोटो खिच्नतिर हैन साथिहरुलाई बोलाउन तिर पो लागेछु !
लामो समयको लक डाउनका कारण वातावरणको स्वच्छता, मानिस तथा यातायातका साधनको चहलपहलमा कमी जस्ता कारणले अहिले दुर्लभ तथा संरक्षित बन्यजन्तुहरु वस्ति नजिक देखिन थालेका छन् । चार हजार मीटरको उँचाईसम्म पाईने डाँफे लक डाउनको यो अवधिमा तल तल वस्ति तिर झर्न थालेको कालिञ्चोकका स्थानिय बताउछन् ।
रतुवा मृग, घोरल, रेड पाण्डा लगायतका दुर्लभ बन्य जन्तु लक डाउनको समयमा मानव चहलपहल घटेको र वातावरण स्वच्छ भएको मौका छोपेर वस्तितिर झरेको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउनु हुन्छ ।
बुधवारमात्र गौरीशङ्कर संरक्षण क्षेत्रले बस्तितिर झरेको रतुवा मृगको उद्दार गरेको संरक्षण क्षेत्रका प्रमुख शाहले बताउनु भयो । मंगलवार (जेठ ६) दोलखाको विगु गाँउपालिका वडा नम्बर ५ लाईसेपका खिमबहादुर खड्काले गोठमा गाई गोरु फर्काउन जाँदा रतुवा मृगको पाठोलाई भेटेपछि घरमा ल्याएका थिए । उक्त पाठोलाई खड्काले बुधवार गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख शाहलाई दिएका हुन ।
त्यसैगरी केहि समय अघि विगु गाँउपालिकाकै वडा नम्बर १ जगतमा वस्ति आसपास रतुवा मृगको बच्चा स्थानियले फेला पारेर गौरीशङ्कर संरक्षण क्षेत्रलाई बुझाएका थिए । संरक्षण क्षेत्रमा अब रतुवा मृगको बच्चा दुई वटा भएको संरक्षण क्षेत्र प्रमुख शाहले बताउनु भयो । दुबै बच्चालाई ठूलो भएपछि उनीहरुको प्राकृतिक वासस्थानमा लगेर छोडिने संरक्षण क्षेत्र प्रमुख शाहको भनाई छ ।
लक डाउनकै अवधिमा विगु गाँउपालिका वडा नम्बर ४ मा रहेको सिंगटी बजारमा घोरल देखापरेको थियो । बजार छिरेको घोरल अलममा परेपछि स्थानियले उद्दार गरी संरक्षण क्षेत्रलाई बुझाएका थिए । उक्त घोरललाई स्थानियकै सहयोगमा उसको प्राकृतिक वासस्थानमै छोडिदिएको संरक्षण प्रमुख शाहले बताउनु भयो । संरक्षण क्षेत्रको कार्यालय रहेको सिंगटीमा तामाकोसी पारी जङ्गलमा पनि प्रशस्तै मृग तथा घोरल रहेको र ती बन्यजन्तु अहिले वस्तिको निक्कै तलसम्म आउने गरेको शाह बताउनु हुन्छ ।
तस्विरहरुः १ र २) गौरीशङ्र संरक्षण क्षेत्रमा रहेका रतुवा मृगको बच्चा र ३) स्थानियले मृगको बच्चा संरक्षण क्षेत्र प्रमुख शाहलाई हस्तान्तरण गर्दै ।



तपाईंहरुको प्रतिकृया