सिडिआरएमपी परियोजनाको परिचयात्मक कार्यक्रम

दोलखा बिशेष समाचार स्थानीय समाचार

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार १०:२८

चरिकोट। बृहत्तर विपद् जोखिम व्यबस्थापन कार्यक्रम (सिडिआरएमपी) परियोजनाको परिचयात्मक कार्यक्रम आज भीमेश्वर नगरपालिकाको वडा नम्बर १ क्षमावतीमा सकिएको छ ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष वीरबहादुर थामीले वडास्तरको विपद् व्यबस्थापन योजना बनाउने जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा वडाले विपद् व्यबस्थापनका लागि ५ लाख रुपैंयाँ बजेट बिनियोजन गरेको र उक्त बजेटलाई योजना बनाएर खर्च गर्ने तयारी भैरहेको उहाँको भनाइ छ । युएनडिपी र सामुदायिक विकास मञ्च लगायतका संघ संस्थासँगको सहकार्यमा वडास्तरको योजना निर्माण गर्ने विपद् व्यबस्थापन समितिका संयोजक समेत रहेका थामीले बताउनुभयो । नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन ऐन २०७५ अनुसार १५ सदस्यीय समिति गठन भएको र छिट्टै खोज उद्धार, प्राथमिक उपचार लगायतका कार्यदल गठन गर्ने र परिचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ भित्रमा जोखिमयुक्त ठाउँहरुको पहिचान समेत गरिएको वडा कार्यालयले जनाएको छ । पहिरोका कारण बोसिम्पा,फेदी र कोटेपोले जोखिममा रहेकोले उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि काम गर्नु पर्ने वडा अध्यक्ष थामीले बताउनुभयो ।

कार्यक्रममा सिडिएफ नेपालका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले शहरी क्षेत्रका समुदाय तथा स्थानीय तहमा विपद जोखिमबारे बुझाइमा अभिवृद्धि गर्ने, प्रभावकारी आकस्मिक प्रतिकार्य तथा ब्यबस्थापनका लागि स्थानीय तह तथा समुदायको क्षमता अभिवृद्धि गर्ने परियोजनाको उद्धेश्य रहेको जानकारी दिनुभयो । सामुदायिक विकास मञ्च नेपालले युएनडिपी सँगको साझेदारीमा नगरपालिकाको १, २, ४, ५ र ७ नम्बर वडामा बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धिका लागि विभिन्न कृयाकलापहरु सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा वडा सदस्यहरु, विपद् व्यबस्थापन समितिका सदस्यहरु, विद्यालय, सामुदायिक वन, आमा समूह, स्वास्थ्यकर्मीहरु, अगुवाहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । यस्तै किसिमको परिचयात्मक कार्यक्रम बुधबार वडा नम्बर ५ र बिहीबार वडा नम्बर ७ मा सञ्चालन गरिने कार्यक्रम संयोजक विनोद शर्माले जानकारी दिनुभयो ।



तपाईंहरुको प्रतिकृया