पानीपोखरीमा एकिकृत वस्ति निर्माण सुरु

दोलखा बिशेष प्रदेश समाचार ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

प्रकाशित मिति: २८ मंसिर २०७६, शनिबार १३:४०

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ पानीपोखरीमा एकिकृत वस्ति निर्माण सुरु भएको छ । शनिवार प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गलले एकिकृत वस्तिमा निर्माण हुने घरको सिलान्यास गर्नु भएको छ ।
सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुदै प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले समाजवादको पहिलो आवश्यकता सुरक्षित आवास भएकोले भुकम्प पछि टहरामा रहेका थामी समुदाय लगायत सबै दोलखालीलाई सुरक्षित घरमा राख्ने प्रदेश सरकारको प्राथामीकता रहेको बताउनु भयो ।
प्रदेश मन्त्री ढुङ्गलले दोलखा प्रदेश तीनको तेस्रो पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्नुहुदै दोलखामा कृषि, जलश्रोत र पर्यटन विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण योजान बनाई रहेको र स्थानिय सरकार मार्फत आवश्यक सहयोग समेत गरिरहेको बताउनु भयो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले एकिकृत वस्ति निर्माणको लागि जिल्ला समन्वय समिति दोलखाले प्रदेश र स्थानिय सरकार बीच समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने बताउनु भयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले वोसिम्पाका भुकम्प पीडित थामी समुदायको लागि निर्माण हुन लागेको पानी पोखरी एकिकृत वस्तिमा छाना र अगाडिको भाग एकै प्रकारको बनाउन प्रदेश सरकारसंग समन्वय गरी भीमेश्वर नगरपालिकाले समेत थप सहयोग उपलब्ध गराउने बताउनु भयो ।
भुकम्प पछि बोसिम्पालाई उच्च जोखिमको क्षेत्र भनिएकोले त्यहाँका ८४ घर धुरीका भुकम्प पीडित नजिकै पानीपोखरीमा टहरामा बस्दै आएका थिए । एकिकृत वस्ति निर्माण ढिला भएपछि बोसिम्पाका ८४ घर धुरी भुकम्प पीडित मध्य अन्यत्र जग्गा हुने केहिले घर बनाएर बसेका छन् । ५७ घर धुरीको परिवार भने अहिले पनि वडा नम्बर १ कै पानीपोखरीमा टहरामै बसिरहेका छन् । सरकारले पुर्ननिर्माण प्राधिकरण मार्फत ५७ घर धुरीलाई पानीपोखरीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिदिने निर्णय गरेको र पुर्ननिर्माण प्राधिकरणको निर्देशन अनुसार जग्गा दर्ता समितिले बस्ती निर्माणको प्रकृया टुंग्याए पछि शनिवार घर निर्माणको काम सुर भएको हो ।
सरकारले करिब तीन करोड ५० लाखको लागतमा पानीपोखरीमा एकिकृत बस्तीको लागि जग्गाको प्लटिङ, सडक, नाला निर्माण गरिदिएको छ । अहिले संरचना निर्माणका बाँकी कामको लागि समेत रकम थप भएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर थामीको सभापतित्वमा सम्पन्न सिलान्यास कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का, भवनका इन्जिनियर भिषण राई, नेकपा वडा नम्बर १ का वडा अध्यक्ष उद्धव कार्की, नेपाली कांग्रेसका वडा सभापति भक्तसिंह थामी र राप्रपाका ठाकुर शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।



तपाईंहरुको प्रतिकृया