बोक्सीको आरोपमा दम्पतिलाई सामाजिक बहिष्कार

दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार स्थानीय समाचार

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार ११:४२

दोलखा/दोलखा विगु गाँउपालिका वडा नम्बर ५ स्याँखु गाँउका दम्पति रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केहि दिन देखि गाँउको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन् ।
वडा नम्बर ५ चिलंखा स्याँखु गाँउको भद्र भलाद्मी, युवा र महिलाहरु संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतिलाई बोक्सा बोक्सीको आरोप सहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरु गाँउ छोडेर सदरमुकामको होटलमा शरणार्थीको रुपमा बस्न बाध्य भएका हुन् ।
५८ बर्षिय पीडित रत्नबहादुर श्रेष्ठले आफु र आफ्नो ५७ बर्षिय श्रीमतीलाई विगत ७÷८ बर्ष देखि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ लगायतले बोक्सा बोक्सीको आरोप लगाउदै कुटपिट गर्दै आएको तर आफुहरु निरिह भएकोले सहदै आएको बताउनु भयो । मंसिर १ गते भने टोल सुधार समितिको बैठकमा सहभागि एक सय १३ जनाले हस्ताक्षर गरी आफुहरुलाई सामाजिक बहिष्कार गरेपछि गाँउ छाड्न बाध्य हुनु परेको रत्नबहादुरले गुनासो गर्नु भयो । सो बैठकमा आफु, आफ्नो श्रीमती र १४ बर्षिय छोरालाई समेत जर्वजस्ति हस्ताक्षर गर्न लगाएको श्रेष्ठको गुनासो छ ।
समितिको बैठकका सहभागिहरुले आफुहरुलाई झण्डै नौ घण्टा केरकार गरी मान्छेलाई विरामी पारी मारेको, अपाङ्ग बनाएको, गाईबस्तुलाई विरामी पारेको जस्ता आरोप लगाएको र आफुहरुको जवाफ समेत सुन्न नचाहेको रत्नबहादुरको श्रीमती कृष्णमायाले बताउनु भयो ।
टोल सुधार समितिमा श्रेष्ठ दम्पतिलाई अपमानित गर्दै बिभिन्न आरोप लगाएको बैठकको झण्डै चार घण्टाको अडियो रेकर्ड बैठकमै बोलाईएका १४ बर्षिय कान्छा छोरा सचिन श्रेष्ठले गोप्य रुपमा रेकर्ड गरेका थिए ।
रत्नबहादुर श्रेष्ठले विगत १५÷१६ बर्ष अघिदेखि झारफुकको काम गर्दै आएका छन् । सामाजिक अभियानमा सक्रिय रत्नबहादुरका दुई छोरा विदेशमा गएर पैसा कमाई व्यवसायमा लागेपछि उनीहरुको आर्थिक अवस्था सुध्रीएकोले केहि समय देखि स्थानिय छिमेकी र नातेदारले उनीहरुलाई झारफुक गर्ने बहानामा बोक्सी लगाउने गरेको आरोप लगाउदै आएको केहि स्थानियले बताएका छन् । रत्नबहादुर दम्पतिलाई गाँउलेले अपमानित गरेपछि काठमाडौँमा रहेका जेठा छोरा भाजुरामले बाबु आमालाई उद्दार गरी सदरमुकाम चरिकोट ल्याएका हुन् ।
जेठा छोरा भाजुरामले अपमानित गर्दै समितिले गरेको माईन्युट, अडियो रेकर्ड सहितको प्रमाण राखेर जिल्ला प्रहरी कार्यालय चरिकोटमा टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ सहित नौ जना विरुद्ध उजुरी दिएका छन् । आईतवार उजुरी दर्ता भएको र कानुन अनुसार कार्वाहि गरिने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो । उजुरी लगतै टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राईले बताउनु भयो । मुलुकी अपराध संहिता २०७४ को १६८ मा अपमान जनक वा अमानविय व्यवहार गर्न नहुने उल्लेख छ । १६८ को १ को क, ख, ग र घ मा बोक्सा बोक्सीको आरोप लगाउन नहुने, सामाजिक बहिष्कार गर्न नहुने जस्ता व्यवस्था रहेको छ । त्यस्तो कार्य कसैले गरे गराको पाईए १६८ को २ मा पाँच बर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरीवानाको व्यवस्था गरिएको छ ।



तपाईंहरुको प्रतिकृया