गाँउपालिकाको केन्द्र विवादः तोडफोड र कागजात कब्जा

दोलखा बिशेष ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार १०:५२

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिकाको केन्द्र विवाद उत्कर्षमा पुगेको छ । आईतवार राति कालिञ्चोक गाँउपालिका वडा नम्बर ५ लापिलाङका स्थानियले हाल गाँउपालिकाको केन्द्र रहेको सुनखानीबाट महत्वपुर्ण कागजात र केहि थान कुर्सीहरु वडा नम्बर ५ को बान्द्रेथलीमा लगेका छन् ।
उनीहरुले गाँउपालिकाको केन्द्र बान्द्रेथलीमा राख्ने निर्णय भएपनि जर्वजस्ति सुनखानीमा राखिएकोले सर्वसम्मत निर्णय भएको ठाँउमा कार्यालय राख्न कागजात तथा कुर्सीहरु सारिएको बताएका छन् । आईतवार राति केहि संख्यामा आएका लापिलाङका स्थानियले गाँउपालिकाको कागजात र कुर्सीहरु बोलेरोमा राखेर बान्द्रेथली लगेका थिए ।
गाँउपालिकाका अध्यक्ष विनकुमार थामीले गाँउ कार्यपालिका र गाँउ सभाले निर्णय गरेर वडा नम्बर ५ (साविक लापिलाङ गाविस) को बान्द्रेथलीमा केन्द्र राख्ने निर्णय भएको र स्थानियले सोहि निर्णय कार्यान्वयनको लागि सुनखानीमा रहेको गाँउपालिकाको कागजातहरु, कुर्सी लगायतका सामग्री लगेको बताउनु भयो । अध्यक्ष थामीले अब गाँउपालिकाको केन्द्र बान्द्रेथलीमै रहने र नियमीत काम समेत बान्द्रेथली केन्द्रबाटै सञ्चालन हुने बताउनु भयो ।
गाँउपालिकाका उपाध्यक्ष कालिका पाठकले भने आईतवार राति कालिञ्चोक गाँउपालिकाको केन्द्र सुनखानीबाट अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, लेखा शाखाका महत्वपूर्ण कागजातहरु लगायतका सामग्रीहरु चोरी भएको र सो को जानकारी स्थानिय प्रशासन लगायत सरोकारवाला निकायलाई गराईएको बताउनु भयो ।
उपाध्यक्ष पाठकले अहिले गाँउपालिकाको केन्द्र विवाद नरहेको र केन्द्र कहाँ राख्ने भन्ने विषयमा गाँउसभामा मतदान भएर त्यसको आधारमा टुङ्गो लाग्ने बताउनु भयो । उपाध्यक्ष पाठकले केन्द्रको विषयमा एक पक्षले लापिलाङमा हुनुपर्ने भनेर प्रदेशमा पठाएको भएपनि प्रदेश सरकारले प्रकृया नपुगेको भन्दै कुनै निर्णय नदिएको उल्लेख गर्नुहुदै हाललाई रातो कितावमा समेत नाम आएको कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ सुनखानीबाटै कार्यालय सञ्चालन हुने बताउनु भयो ।
घट्ना भए लगतै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल सहितको टोलिले गाँउपालिका कार्यालयको स्थलगत अनुगमन समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले हाल सरकारले तोकेको ठाँउनै गाँउपालिकाको आधिकारीक केन्द्र भएकोले जनप्रतिनिधिहरुको समेत संलग्नतामा कार्यालय तोडेर सामग्री लानु गैर कानुनी काम भएको बताउनु भयो ।
कालिञ्चोक गाँउपालिकाको कार्यालयबाट सामान लगेको विषय राजनीतिक रुपमा कसरी हेर्ने त्यो अर्को पाटो होला तर कार्यालय तोडफोड गरी सामान लानु गैर कानुनी काम भएकोले स्थानिय प्रशासनले त्यसलाई कानुनी प्रकृया अनुसारनै कार्वाहि अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।



तपाईंहरुको प्रतिकृया