बुद्धिजीविहरुको चियापानमा नेकपाको आन्तरिक जीवनबारे चासो

दोलखा बिशेष राजनीति शिक्षा

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार १०:५९

दोलखा/नेपाल कम्युनिष्ट पार्टी दोलखा निकट बुद्धिजीविहरुको दशैँतिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । नेकपा निकटका (पूर्व एमाले र पूर्व माओवादी) बुद्धिजीविहरुले शिक्षक, कर्मचारी, पत्रकार एवं सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थितिमा महत्वपूर्ण चाडपर्वको शुभकामना आदान प्रदान तथा अन्तक्रिया कार्यक्रम गर्दै नेकपा दोलखाको वर्तमान गतिविधि सुस्त र निकै कमजोर भएको निष्कर्ष निकालेका छन् ।
नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सामाजिक जीवन निकै आलोचनायुक्त भएको र चरित्र पञ्चायतकालीन नेता तथा अन्य लोकतान्त्रिक नेताहरुको भन्दा भिन्न नरहेको उनीहरुको ठहर छ । तीनै तहका निर्वाचन पछि पार्टीले जनप्रतिनिधिलाई स्पष्ट मार्गदर्शन गर्न नसकी जनप्रतिनिधिहरु अनावश्यक भौतारिँदा जनताको नजरमा नतिजामूलक काम देखाउन सकस भएको बिषयमा आफूहरुलाई चिन्ता लागेको छलफलमा सहभागी एक प्रतिनिधिले बताए ।
नेकपा निर्माणमा थुप्रै ब्यक्तिको योगदान, संघर्ष र बलिदानी भएकोले जनताको आर्थिक,सामाजिक रुपान्तरण नै आजको आवश्यकता भएकोले यसमै केन्द्रित हुन जनप्रतिनिधि र पार्टीलाई आग्रह गर्ने, मार्गदर्शन गर्ने र आवश्यक परेमा कार्यकर्ता र जनबलको सहायताले दबाव सिर्जना गरी नेकपालाई पुन सही बाटोमा हिडाउने निचोड सहित अन्तक्रिया गरिएको छ ।
अन्तक्रियामा शंकरलाल श्रेष्ठ, विक्रम कार्की, राजेन्द्र मानन्धर, रामप्रसाद सापकोटा, प्रेमप्रसाद अधिकारी, बालकुमार गिरी, नारायण बुढाथोकी, जगदिश अर्याल, कवीन्द्र श्रेष्ठ, सुन्दर खड्का, बालकृष्ण दहाल, लक्ष्मी भूजेल लगायतका ६० जनाको उपस्थिति रहेको थियो ।



तपाईंहरुको प्रतिकृया