जनतालाई स्थानिय तहबाटै सबै सुविधा– नेकपा अध्यक्ष दहाल

दोलखा बिशेष ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार १६:२४

दोलखा/नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले संघियताको भावना अनुसार जनताले हरेक सुविधा स्थानिय तहबाटै पाउनु पर्ने बताउनु भएको छ ।
दोलखाको जिरीमा जिरी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन, जिरी एफएमको दोस्रो बार्षिक साधारण सभाको उद्घाटन तथा प्रथम सगरमाथा आरोहि एडमन हिलारी र तेन्जीङ नोर्गे शेर्पाको सालिक अनावरण कार्यक्रममा अध्यक्ष दहालले संघियता पछि जिल्लाबाट प्राप्त हुदै आएको सेवा सुविधा समेत प्रदेशमा पुगेकोले जनताले दुःख पाएको गुनासो सुनिन थालेको उल्लेख गर्नुहुदै जिल्ला तहमा भएका हरेक कार्यालयहरु ढिला चाँडो जिल्लामानै राखिने बताउनु भयो ।
अध्यक्ष दहालले जनतालाई सहज ढङ्गले सेवा सुविधा दिनको लागि हरेक काम स्थानिय तहबाटै हुनुपर्नेमा झन जिल्लामा भएका कार्यालयहरु समेत प्रदेशमा जानेकुरा स्वीकार्य नहुने र त्यसरी गएका कार्यालयहरुलाई जिल्लामै राख्न आफुले पहल गर्ने बताउनु भयो ।
अध्यक्ष दहालले स्थानिय तहहरु भौतिक रुपमा सम्पन्न हुदै गएको उल्लेख गर्नुहुदै अब जनतालाई सेवा दिने कुरामा पनि स्थानिय तह सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले १० बर्षे जनयुद्ध पछि खुला राजनीतिमा आउनसाथ घुम्न र प्राकृतिक सुन्दरताको अवलोकन गर्न जिरी आएको स्मरण गर्नुहुदै जिरीको विकास र समृद्धिको लागि आफुले पार्टीको तर्फबाट र सरकारको तर्फबाट समेत सहयोगको पहल गर्ने बताउनु भयो ।
जिरी नगरपालिकाका प्रमुख टंक जिरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघिय सांसद पार्वत गुरुङ, पूर्व राज्यमन्त्री एवं नेकपाका केन्द्रिय सदस्य देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिरी नगरपालिकाको उपप्रमुख कृष्णमाया बुढाथोकी, सामुदायीक रेडियो प्रशारक संघको केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का लगायतले मन्तव्य व्यक्त गनुृ भएको थियो ।



तपाईंहरुको प्रतिकृया