पहिरोको उच्च जोखिममा सिंगटी बजार

जीवन शैली दोलखा बिशेष ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार स्थानीय समाचार

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार १४:४७

दोलखा/लगातारको बर्षाका कारण दोलखाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजार पहिरोको उच्च जोखिममा परेको छ । २०७२ सालको भूकम्प पछि उच्च जोखिमको क्षेत्र भनि सिंगटी बजारलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भूगर्वसंग सम्बन्धित विज्ञहरुको सुझाब रहेको भएपनि उचित बिकल्प नभएपछि स्थानिय जोखिम मोलेरनै बस्दै आएका छन् ।
दोलखाको कालिञ्चोक र विगु गाँउपालिकाको सिमानामा रहेको सिंगटी बजारको कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ मा पर्ने क्षेत्रमा बुधवार साँझ पहिरो जाँदा ५ घर विस्थापित भएको र झण्डै एक दर्जन घरहरु उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुन्जीत तमाङले बताउनु भयो । पहिरोका कारण २८ जना व्यवसायीको क्षति पुगेको र १२ जना ब्यवसायी जोखिममा परेको दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताउनु भयो । क्षतिको पूर्ण विवरण प्राप्त भै नसके पनि पहिरोका कारण व्यवसायी र स्थानियको ३० करोड भन्दा बढीको क्षति पुगेको अध्यक्ष श्रेष्ठको अनुमान छ ।
पहिरोका कारण अवरुद्ध दोलखा लामाबगर सडक विहिवार साँझबाट सुचारु भएको छ । विहिवार कालिञ्चोक र विगु गाँउपालिकाका प्रमुख, उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, दैवि प्रकोपसंग सम्बन्धित काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधि, दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखा, सिंगटी बजार व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि र पहिरो पीडितहरुको संयुक्त बैठकले पीडितलाई उचित राहत दिने, विस्थापितलाई सुरक्षित ठाँउमा राख्ने, पहिरो तथा तामाकोसी नदिले कटान गर्ने अवस्थाको व्यवस्थापनको लागि सरोकारवाला निकायलाई काम गर्न आग्रह गर्ने लगायतका विषयमा छलफल भएको दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष सुन्दर श्रेष्ठले बताउनु भयो ।
निरन्तर बर्षा भै रहेकोले पहिरो नियन्त्रणको लागि तत्काल काम नगर्ने हो भने अझ ठूलो क्षति हुनुसक्ने दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका पूर्व अध्यक्ष सुन्दर श्रेष्ठ बताउनु हुन्छ ।
सिंगटीलाई प्राकृतिक प्रकोपबाट जोगाउन बृहत योजना आवश्यक रहेको र त्यसको लागि वडाको बजेटमात्र प्रयाप्त नहुने भएकोले गाँउपालिका, प्रदेश र केन्द्रीय सरकारले समेत सहयोग गर्नु पर्ने कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ का अडा अध्यक्ष निसान बुढाथोकी बताउनु हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता स्थानिय कुलबहादुर बुढाथोकी योजना बिना स्थानिय तहले सडक खनेको र सडकमा नाला व्यवस्थापन नगरेको कारण सिंगटी बजार उच्च जोखिममा परेको बताउनु भयो । उहाँले सडक निर्माण लगायतका विकासे योजना बनाउदा डिपिआर तयार गरेरमात्र अगाडि बढाउन स्थानिय तहलाई आग्रह समेत गर्नु भयो ।
दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले सिंगटी बजार पहिरोको उच्च जोखिममा रहेपनि व्यवसायीहरु आफ्नो घर व्यवसाय छोडेर अन्यत्र जाने अवसथा नभएको भन्दै स्थानिय, प्रदेश र संघिय सरकारले सिंगटीको पहिरो नियन्त्रणको लागि संयुक्त योजना तयार गर्नु पर्ने बताउनु भयो ।
बुधवारको पहिरोले सिंगटीका धेरै व्यवसायीहरु विस्थापित भएपछि दोलखा उद्योग बाणिज्य संघले पनि चासो देखाएको छ । संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र उपाध्यक्ष सनत थापाले विहिवार सिंगटीको स्थलगत अवलोकन गर्दै पीडित व्यवसायीहरुको राहतको लागि संघले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।



तपाईंहरुको प्रतिकृया